‘जार’ – परम्परा र व्यक्तिगत स्वतन्त्रताको द्वन्द्व

कलाकार : सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा
निर्देशक : फुर्वा छिरिङ लामा
जनरा : नेपाली, सोसल ड्रामा

विवाहित व्यक्तिले आफ्ना श्रीमान् वा श्रीमती बाहेक अरू कसैसँग गोप्य प्रेम वा यौन सम्बन्ध राख्छ भने त्यस्तो सम्बन्धलाई ‘जार सम्बन्ध’ भनिन्छ । नेपाली समाजमा यस्तो सम्बन्धलाई अनैतिक मानिन्छ । यसै सन्दर्भमा रहेर निर्देशक फुर्वा छिरिङ लामाले सत्य घटनामा आधारित रहेर चलचित्र ‘जार’ को निर्माण गरेका छन् । यो चलचित्र वि.सं १९६१ मा प्रकाशित साहित्यकार इन्द्र बहादुर राईको ‘जार’ कथामा आधारित छ । चलचित्रले राणाकालीन परिवेशको चित्रण गर्दै रुद्रमान, हर्षजित र ठुली बिचको ‘जार सम्बन्ध’ सम्बन्धलाई केन्द्र बनाएको छ ।

कथानक

चलचित्रका प्रमुख पात्र रुद्रमान, हर्षमान र ठुलीबिचको जार सम्बन्ध नै यस चलचित्रको मुख्य कथावस्तु हो । यस चलचित्रले वि.सं १८०० दशकको कालखण्डलाई आत्मसात् गरेको छ ।

चलचित्रका मुख्य पात्र रुद्रमान फौजमा जागिर भएका एक लप्टन हुन् । उनको परिवार कालिपश्चिमि गुल्मी देखि बसाई सरेर पूर्व आमचोकमा आएका हुन्छन् । किनभने अब रुद्रमानको गुरुङ पल्टन त्यहाँ देखि ३, ४ दिनदेखि मात्र टाढा इलाम गढीमा हुन्छन् ।

त्यस्तै आमचोकमै बस्नु अर्को कारण भनेको उनीहरूको चिनाजान भएको एक मगर थापा परिवार अघि नै त्यहाँ आएर बसेका हुन्छन् । त्यही परिवारकी जेठी छोरी हुन्छिन् ‘ठुली’ अर्थात् गीताञ्जली थापा । चलचित्रमा उनी एक सोझी गाउँले केटीको भूमिकामा देखिएकी छिन् ।

बिस्तारै ती दुई परिवारबिच आत्मीयता पनि बढ्दै जान्छ । रुद्रमान र ठुलीकी बहिनीहरू देवी र मैती पनि एक अर्काका खुबै मिल्ने साथी बन्छन् ।

चलचित्र अगाडी बढ्दै जाँदा रुद्रमानलाई पल्टनबाट घर फर्केको देख्न सकिन्छ । त्यसपछि ठुलीको घरमा रुद्रमानको आवतजावत भई नै रहन्छ ।
उनीहरू नबोलेरै एक अर्कालाई मन पराउँन थाल्छन् ।

एकदिन रुद्रमानले एकान्तमा ठुलीलाई आफू ‘छिट्टै फर्की आउँ कि नआऊँ’ भनी सोध्छन् । ठुलीले छिट्टै आउनु भनेर जवाफ दिन्छन् । त्यसपछि ती दुई बिचको प्रेम सम्बन्ध अझ फक्रेको देखिन्छ ।

तर रुद्रमान पल्टन गएपछि देवी र मैतीको मितिनी लगाइन्छ । ती दुई परिवार अब एक घर बन्दछन् । उनीहरू बिच विवाहवारि पनि नचल्ने हुन्छ । यसरी निर्णायक मोडमा आएर चलचित्रको पहिलो भाग टुङ्गिएको छ । त्यसपछिको बाँकि भागमा चलचित्रका अर्का मुख्य पात्र हर्षजित अर्थात् अनुपविक्रम शाहीको प्रवेश हुन्छ ।

त्यसपछि चलचित्रले विभिन्न उतार चढावसहित ठुली र रुद्रमान बिचको जार सम्बन्धलाई बिस्तारै अघि बढाएको छ । जसले दर्शकहरूमा उत्सुकता पैदा गर्छ ।

चलचित्र ‘जार’ को ट्रेलर

चलचित्र ‘जार’ को रिभ्यू

पहिल्यै लोकप्रिय रहेको साहित्यकार इन्द्र बहादुर राईको ‘जार’ कथामा चलचित्र निर्माण गरिनु एक चुनौतीपूर्ण काम हो । जुन कामलाई निर्देशक फुर्वा छिरिङ लामाले गरेका छन् ।

यसबिच दर्शकको मन, मुटु र मस्तिष्कमा आफ्नो विशेष ठाउँ बनाइसकेको जारले फेरि पनि सिनेमा हलहरूमा दर्शकको साथ पाउला त । त्यसका लागि चलचित्र कस्तो बनेको छ भन्नेमा पनि भर पर्छ ।
चलचित्रमा राणाकालीन ग्रामीण परिवेश देख्न सकिन्छ । निर्देशक लामाले यस सेटअपलाई जीवन्त बनाउनका लागि तत्कालीन समयका पहिरन र सामाग्रीहरूमा विशेष ध्यान दिएका छन् ।

उनले अपराधीलाई भाग्न नदिन खुट्टामा काठको लक प्रयोग गरेका छन् भने घाउमा टेप र पट्टिको सट्टा कपडा र डोरी प्रयोग गरेका छन् । साथै चलचित्रमा पात्रहरूको पहिरन र गहनाले पनि दर्शकलाई १८ सय को दशकमा पुगेको अनुभूति दिन्छ ।

गाउँले परिवेश भएको यस चलचित्रका फ्रेमहरू कुनै सुन्दर पेन्टिङ जस्तो देखिन्छ । चलचित्रमा प्रयोग गरिएको एनिमेसन, भिएफएक्स र साउन्डले दर्शकलाई चलचित्रसँगै बाँधेर राख्ने काम गरेको छ । यो चलचित्रको सबैभन्दा बलियो पक्ष पनि हो ।

चलचित्रको पहिलो भाग अनावश्यक रूपमा लम्ब्याइएको महसुस हुन्छ तर उक्त सिनहरूले हेरिरहँदा दर्शकलाई एक प्रकारको छुट्टै आनन्द मिल्छ । यस चलचित्रले प्रकृतिमा भएका सूक्ष्म जीवहरूलाई पनि विशेष स्थान दिएको छ । जुन प्रवृत्ति अन्य चलचित्रहरूमा पाइदैँन् ।

यसै प्रवृत्तिले चलचित्र जारलाई अरू चलचित्र भन्दा फरक र विशेष बनाएको छ । तर चलचित्रको पहिलो भाग भन्दा दोस्रो भाग तुलनात्मक रूपमा छिटो र रमाइला छन् । यस कुरामा भने सन्तुलन नमिलेको दर्शकलाई महसुस हुन्छ ।

त्यस्तै अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीले अभिनयमा खोट लगाउने ठाउँ देखिँदैन् । उसो त चलचित्रमा अभिनेत्री गीताञ्जली थापाको पनि दमदार अभिनय रहेको छ । तर केही सिनहरूमा उनले बोलेका कुराहरू स्पष्ट बुझिँदैनन् ।

समग्रमा भन्नुपर्दा चलचित्र राम्रो बनेको छ । दर्शकहरूलाई मनोरञ्जन गराउँछन् । वैशाख २६ गते शुक्रवार आजदेखि प्रदर्शनमा आएको चलचित्र जार यहाँहरूले पनि थिएटरमा गएर मनोरञ्जन लिन सक्नुहुन्छ ।

चलचित्र ‘जार’ किन हेर्ने ?

चलचित्र जारले दर्शकहरूलाई राणाकालीन परिवेशको सयर गराउँछ । त्यसबेलाको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक जस्ता विविध पक्षको बारेमा जानकारी लिन यो चलचित्र हेर्न सकिन्छ । विशेषतः यसमा मौलिक संस्कृतिलाई जोड दिइएको छ । साथै प्रेम कथा मन पर्ने दर्शकहरूलाई यो चलचित्र सजिलै मन पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =