दुर्घटनामा अर्थमन्त्री-मेयर : सोसल मिडियामा तथानाम गालीगलौज, कता जाँदैछ समाज ?

काठमाडौं । शनिबार (फागुन ३) पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन कार्यक्रम थियो । सोही कार्यक्रममा उद्घाटनका लागि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कार्यक्रमस्थल पुगेका थिए । दुर्भाग्य, उद्घाटनका क्रममा आगोको लप्काले बेलुन फुट्दा अर्थमन्त्री पौडेलसहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भए ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको लप्काले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते भएका हुन् ।
पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । अहिले उनीहरूको काठमाडौंस्थित कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । तर, विडम्बना नेताहरू दुर्घटनामा पर्दा समेत सान्त्वना पाउन सकेनन् । बरु उनीहरूमाथि गालीगलौज गर्नेहरूको ओइरो नै लाग्यो, सामाजिक सञ्जालमा !
नेपालमा फेसबुक, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल (सोसल मिडिया) को प्रयोग बढ्दो छ । सामाजिक सञ्जालको कतिपयले सदुपयोग गरेको भएपनि अधिकांशले यसको गलत प्रयोग गरिरहेका छन् । जसकारण समाजमा विकृति बढेको छ भने मानवता हराउँदै गएको छ ।
नेताहरूले गलत कार्य गरेको भएपनि दुर्घटनाको समयमा सान्त्वना दिइनुपर्नेमा गालीगलौज दिइरहेको सामाजिक सञ्जालमा देखिएको छ । यसरी दु:खद् परिस्थितिमा समेत सामाजिक सञ्जालको दुरुपयोग हुनुले समाज कता जाँदैछ भन्ने प्रश्न सिर्जना भएको छ ।
सामाजिक सञ्जालबाट सकारात्मक भन्दा पनि नकारात्मक सन्देश बढी प्रवाह भइरहेको छ । सामाजिक सद्भाव कायम राख्नुपर्नेमा त्यसो भएको देखिँदैन । एकोहोरो नेताहरूलाई गालीगलौज गर्नमा सामाजिक सञ्जाल प्रयोग भइरहेको छ ।
राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईँ भने मानिसहरूमा मानवता हराउँदै गएको बताउँछन् । ‘सामाजिक सञ्जाल हेर्न सकिने अवस्था छैन । खोल्न सकिने अवस्था छैन सामाजिक सञ्जाल । साह्रै अभद्र भएको छ सामाजिक सञ्जाल,’ राजनीतिक विश्लेषक डा.चापागाईँले भने ।
राष्ट्रको मेकानिजम (संयन्त्र) कमजोरको परिणाम सामाजिक सञ्जालमा छाडा प्रवृत्ति मौलाएको उनी बताउँछन् । उनले मकालुखबरसँग भने,‘जब राष्ट्रको मेकानिजम कमजोर हुन्छ,त्यसपछि हरेक कुराहरू कमजोर हुँदै जान्छन् र राज्य संयन्त्र कमजोर भएपछि सामाजिक सद्भाव कमजोर हुँदै जान्छ ।’
मान्छे खतरनाक जनावर भएको चर्चा गर्दै मानिसलाई कानून,धर्म,संस्कृति लगायत हरेक कुराले बाँधेको भएपनि राज्य संयन्त्रको कमजोरीका कारण विकृति पैदा भइरहेको उनले बताए ।
‘हिजो पोखरामा देशका उपप्रधान एवं अर्थमन्त्री,पोखरा महानगरका प्रमुख सम्मिलित एउटा कार्यक्रममा अप्रिय दुर्घटना घट्न पुग्यो । उक्त दुर्घटनालाई लिएर आज सामाजिक सञ्जाल खोलिनसक्नु छ,’ राजनीतिक विश्लेषक डा. चापागाईँले भने, ‘यदि सामाजिक सञ्जाल खोलेर हेर्ने हो भने अधिकांश मानिसहरु यति अश्लील, निर्मम निर्दयी देखिएका छन् की त्यो भनिसक्नु छैन । त्यसकारण सामाजिक सञ्जाललाई राज्यले अनिवार्य रुपमा नियन्त्रण गर्नुपर्छ ।’
सामाजिक सञ्जाल नियन्त्रणका नाममा राज्यलाई रिस उठेकै भरमा जेल्न हाल्ने खालका नियम भने बनाउन नहुने उनी बताउँछन् । उनले नेताहरुप्रति जनता सन्तुष्ट छैनन् भन्ने संकेतका रुपमा पनि नेताहरुप्रति सामाजिक सञ्जाल मार्फत् गरिएको व्यवहारबाट देखिएको उनी बताउँछन् । नेताहरुमाथि असन्तुष्टि पोख्ने नाममा असभ्य रुपमा प्रस्तुत हुनु राम्रो नभएको उनले बताए ।
नेताहरूमाथि आक्रोश व्यक्त गर्ने नाममा मानवीयता,संस्कार,संस्कृति छोडेर एक खालको जमात सामाजिक सञ्जालमा देखिएको उनी बताउँछन् । उनी नेतृत्वले सच्चिन आवश्यक रहेको समेत बताउँछन् ।
आफूहरूप्रति नागरिक सन्तुष्ट नरहेको बुझ्दै सो घटनाबाट शिक्षा लिएर आगामी दिनमा जनताका जनजीविकाका पक्षमा काम गर्नुपर्नेमा समेत उनले जोड दिए । उनले सामाजिक सञ्जालसम्बन्धीको विधेयक परिमार्जनका साथ शीघ्र चुस्त दुरुस्तका साथ ल्याइनुपर्ने समेत बताए । मानिसहरु नियममा बाँधिनुपर्नेमा जोड दिँदै नियममा नबाँधिएमा समाज अराजकतातर्फ जाने डा.चापागाईँ बताउँछन् ।
मनोविद् गोपाल ढकाल दु:खद् अवस्थामा रमाउनु,गालीगलौज गर्नु राम्रो नभएको बताउँछन् । राजनीतिक हिसाबले नागरिकहरू रुष्ट भएपनि दुर्घटनालाई राजनीतिसँग जोड्न नहुने उनी मकालुखबरसँग बताउँछन् ।
मृत्यु हुँदा,दुर्घटना हुँदा दया, माया, करुणा देखाउने समाज भएपनि पछिल्लो समय त्यसबाट विमुख भइरहेको मनोविद् ढकालले बताए । ‘मानवीय संवेदनशील कुराहरूलाई राजनीतिसँग जोड्नु हुँदैन । चोटपटक लाग्नु भनेको व्यक्तिगत कुरा भयो,मानवताको कुरा भयो, यस्ता कुरालाई राजनीतिसँग जोड्नु हुँदैन, त्यो राम्रो होइन,’ मनोविद् ढकालले भने, ‘यसबाट के देखिन्छ भने नेपाली समाजमा मानवता हराउँदै गएको छ ।’
उनले पोखराको घटना उच्छृङ्खलताको उपज भएको बताए । उच्छृङ्खल व्यवहारले कसैलाई पनि फाइदा नगर्ने उनले बताए । उनले राजनीतिमा समेत मानवता हराएको बताए । नेताहरूसँग असन्तुष्ट राजनीतिक दलकै कुनै व्यक्तिले पनि घृणित राजनीति गरिरहेको हुन सक्ने उनी बताउँछन् । उनले राजनीतिक शुद्धीकरण र राजनीतिक संस्कार समेत आवश्यक रहेको बताए ।
राजनीति र मानवीयतालाई छुट्टाछुट्टै रुपमा हेर्न जरुरी रहेको उनले बताए । अरूको दुःखमा रमाउनु राम्रो नभएकोमा उनले जोड दिए । संवेदनशील भएर समाजलाई सही दिशातर्फ अघि बढाउनुपर्नेमा उनले जोड दिए ।








