सेवाग्राहीलाई मुस्कान दिएर हुँदैन, मुस्कान आउने सेवा दिनुस् : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानुनहरू बन्न नसकेको बताउँदै संसदीय समितिहरूले गुणात्मक रुपमा काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलाइ भइरहेको बताएका हुन् ।

उनले बन्न बाँकी कानुनहरू बनाउन संसदीय समितिहरूले उपसमिति गठन गरेर कानुनी अभ्यास गर्न जरुरी रहेको बताए । ‘संविधानपछि बन्नुपर्ने धेरै कानुनहरू अहिले पनि प्रतीक्षारत छन् । ढिलो भइरहेको छ । हामीले गर्न सकेनौँ भन्ने सन्दर्भमा नागरिक पंक्तिमा प्रश्न पनि छन् । त्यसलाई दृष्टिगत गर्दै यसलाई छिटो छरितो बनाउने सन्दर्भमा उपसमितिमार्फत थप एक्सरसाइज गरौं’ उनले भने ।

उनले समितिमा सांसदहरूको उपस्थिति सङ्ख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न सुझाव दिए ।

उनले संघीय निजामती विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राखे । उनले मुस्कानसहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताए । ‘विधेयकका सन्दर्भमा सुशासनमुखी शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ । हामीले भन्दै आएको मुस्कानसहितको सेवाले सेवाग्राहीसँग नम्र व्यवहार गर्ने भनेको हो नि,’उनले भने, ‘तर सेवाग्राहीलाई मुस्कान दिएर हुँदैन, आज त हुँदैन भनेर त काम बन्दैन । अब मुस्कानसहितको सेवा भनाई जनतामा मुस्कान आउने सेवा चाहियो ।’

संसदीय समितिहरू कोरम पुर्याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =