सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुबीच सहमति

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघ र नेपाल निर्माण व्यवसायी महासङ्घसहित अन्य ४ निर्माण कम्पनीबीच सहमति भएको छ ।
सिमेन्ट उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने उद्देश्यले सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरूकाबीच सहमति भएको हो ।
आइतबार उद्योग मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीहरुले यस्तो सहमति गरेका हुन् ।
सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक अर्काका समस्याहरूलाई मनन गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा संग सँगै अगाडी बढ्ने भन्ने लगायतका विषयमा छलफलबाट सहमति भएको नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले जानकारी दिए ।
उद्योगहरूमा भईरहेको विद्युत् आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्बाध रुपमा उद्योग सञ्चालन गर्ने वातावरण मिलाउने विषयमा पनि मन्त्री भण्डारीसँग छलफल भएको थियो ।








