०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छ : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन् ।
आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले राप्रपाले अब क्रियाशीलता बढाउनुपर्ने समय आएको बताए ।
उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए । उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे ।
उनले नेपाली काँग्रेस-नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरू खुसी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए ।
सरकारका प्रधानमन्त्री र मन्त्रीहरू चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए । काँग्रेस— नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरूकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताए ।
उनले भने ‘हामीले आफ्नो क्रियाशीलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । पर्याे भने बीचमै, भएन भनेपनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो । आज काँग्रेस, एमाले मिलेर बनेको सरकारको नेताहरू जनताको बीचमा जान सकिरहेका छैनन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा त प्रधानमन्त्री जहाँ गयो जनताले त्यहीँ मुर्दावाद भनिरहेका छन् । अब प्रधानमन्त्री, मन्त्रीहरूले आफूले चाहेको बेलामा, चाहेको ठाउँमा जानसक्ने परिस्थिति बनेको छैन भने देशले के खोजिरहेको छ, त्यो स्पष्ट छ । काँग्रेस, एमाले, माओवादी यो तहको अलोकप्रिय भए र यिनीहरूको क्रियाकलापबाट जनता पूर्ण रुपमा परिचित भए भने अब आउने दिनमा ०८४ को चुनावमा राप्रपा पहिलो पार्टी नभएर कुन चाहिँ पार्टी पहिलो हुन्छ त ल भन्नुस् त ।’
अध्यक्ष लिङदेनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको बताए ।








