०८४ मा पहिलो पार्टी बन्ने एमालेको अठोट, दुई वर्षभित्रै १० लाख सदस्यता पुर्याइने

काठमाडौं । नेकपा एमालेले आगामी ०८४ को आम चुनावलाई केन्द्रित गर्दै पहिलो बन्ने रणनीति थालेको छ । ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरु पोलिटब्युरो बैठकमा एमालेले पार्टीलाई पहिलो र बलियो शक्ति बनाउन रणनीति थाल्ने उद्घोष गरेको हो ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताए । ‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’
अध्यक्ष ओलीले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिए । त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको भनाइ थियो । ‘संगठनहरू चुस्त दुरुस्त हुनुपर्यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, ओलीले भने, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्यो ।’
पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले ३३ पृष्ठ लामो वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणः वार्षिक कार्ययोजना’ शीर्षकको उक्त प्रस्ताव ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’को अनुभवका आधारमा ल्याइएको उल्लेख गरिएको छ । अब ल्याइने पार्टी कार्यक्रमको उद्देश्य आगामी चुनाव ०८४ बाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनु रहेको प्रस्तावमा भनिएको छ ।
आगामी वर्ष २०८२ भित्रै दश लाख पार्टी सदस्य बनाउने लक्ष्य पहिलो प्रस्तावमा छ । दशौं राष्ट्रिय महाधिवेशनपछि जोड दिएर सञ्चालन भइरहेको सदस्यता नवीकरण र नयाँ वितरण अभियानलाई दश लाख बनाउने लक्ष्य लिइएको छ । वडामा कुल मतदाताको ३ प्रतिशत र पालिका तथा जिल्लामा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउँदा १० लाखको योजना पूरा हुने एमालेको योजना छ । तर त्यसरी सदस्यता वितरण गरिरहँदा ३३ प्रतिशत महिलाको लक्ष्य पूरा गर्नेदेखि नयाँ सदस्यलाई पार्टीको विचारबाट प्रशिक्षित गरिने कार्यक्रम पनि समावेश गरिएको छ ।
देशमा अराजकता मच्चाउने कोसिस भइरहेको छ
अध्यक्ष ओलीले देशमा अराजकता मच्चाउने कोसिस भइरहेको बताएका छन् । ‘सरकारविरुद्ध आन्दोलन गर्ने र अराजकता मच्चाउने कोसिस भइरहेको छ । सबैको ट्र्याकल गर्न हामी सक्षम छौँ,’ उनको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले ने ।
ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आवश्यक भएको बताए । प्रचण्डले आफूमाथि लगाएको आरोप कुण्ठाग्रस्त भएको ओलीको भनाइ थियो । ‘एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ । सरकारबाट बाहिरिन बाध्य भएपछिको यो छटपटी हो’ ओलीको भनाइ थियो, ‘यो परिस्थितिमा एमाले सचेततापूर्वक अघि बढ्छ ।’
तोकिएको समय सीमाभित्रै कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण
अध्यक्ष ओलीले नयाँ समीकरण निर्माणका क्रममा भएको सातबुँदे सहमतिअनुसार कांग्रेसलाई तोकिएकै समय सीमाभित्र सरकारको नेतृत्व हस्तान्तरण गर्ने पनि बताए । एमालेले नेतृत्व गरिरहेको कांग्रेससहितको अहिलेको सरकारले जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै अघि बढिरहेको बताउँदै उनले तोकिएकै समय सीमामा सरकारको नेतृत्व हस्तान्तरण गर्ने बैठकलाई जानकारी गराएका हुन् ।
कांग्रेस-एमालेबीच ०८४ सालसम्म आलोपालो सरकारको नेतृत्व गर्ने सातबुँदे सहमतिमा साढे दुई वर्ष ओली र बाँकी अवधि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ । ‘एमालेले नेतृत्व गरिरहेको अहिलेको सरकारले जनतामा उत्साह पैदा गरेको छ, अर्थतन्त्र क्रमशः लयमा फर्किँदै छ । सरकार सफल दिशामा अघि बढ्छ’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘सातबुँदे सहमतिअनुसार कांग्रेसलाई तोकिएको समय सीमाभित्रै सरकारको नेतृत्व हस्तान्तरण गरेर ०८४ सम्म मिलेर राजनीतिक स्थिरताको सन्देश दिन्छौँ ।’








