जनसार्क मञ्चको सभापतिमा बिसी र महासचिवमा ढकाल

काठमाडौँ । जनसार्क समन्वय मञ्च नेपालको सभापतिमा समाजसेवी एवं पूर्व प्रशासक हरिबहादुर बिसी सर्वसम्मत चयन भएका छन् । १२ साउनमा बबरमहलस्थित साप नेपालको सभाहलमा सम्पन्न आठौँ वार्षिक साधारण सभा तथा अधिवेशनले उपसभापतिमा उमा तिमिल्सिना मरहट्ठा र महासचिव एवं प्रमुख प्रवक्तामा सञ्चारकर्मी तथा अधिकारकर्मी भरत ढकाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
यसै गरी अधिवेशनबाट कोषाध्यक्षमा दिनदया रिजाल, सचिवमा विजया खनाल र धर्मेन्द्र यादव एवं सदस्यहरूमा वरिष्ठ समाजसेवी नरबहादुर लिम्बु, वरिष्ठ प्रशासक रामेश्वर घिमिरे, सामाजिक अभियन्ता कमलबाबु परियार, वरिष्ठ सञ्चारकर्मी बालकृष्णप्रसाद र निना रिजाल चयन भएका छन् । साधारण सभाबाट डा. भरत बडाल, देबराज ढकाल, उदय के.सी, कृष्णप्रसाद घिमिरे, प्रधुम्न चौँधरी, देवी खड्का, कालिबहादुर बि.क, तुल्सीप्रसाद तिम्सिना, मिलन बि.क र खोपबहादुर तामाङ सल्लाहकारमा चयन भए । अधिवेशनको उद्घाटन वरिष्ठ समाजसेवी नरबहादुर लिम्बु र पशुपति क्षेत्र विकाश कोषका सदस्य डा. भरत बडालले संयुक्त रुपमा गरेका थिए ।
र्साकराष्ट्र्का जनसमुदायबिच सुमधुर सम्बन्ध स्थापित गर्ने र सार्क मुलुकहरूमा पर्यटन र पर्यावरण सम्बन्धी विभिन्न कार्यक्रम गर्ने मूल उद्देश्यले २०७४ भदौ २४ गते विधिवत् स्थापना भएको जनसार्क समन्वय मञ्च नेपालले भारत, बङ्गलादेश, भुटान लगायत देशमा विभिन्न कार्यक्रमहरू सहित सम्मेलन सम्पन्न गरिसकेको छ भने तेस्रो जनसार्क सम्मेलन छिट्टै नेपालमा आयोजना गर्ने भएको छ ।
सम्मेलनले सुस्ताएको सार्कलाई गतिशील बनाउन र भ्रष्टाचार नियन्त्रण गर्न जनस्तरबाट दबाब सिर्जना गर्नुका साथै सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धन समबन्धि विभिन्न अभियान सञ्चालन गर्ने तयारी भइरहेको नवनिर्वाचित सभापति बिसीले जानकारी गराएका थिए ।










