राष्ट्रपति पौडेलको आव्हान : आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुनुहोस्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रुपमा तनहुँ जिल्लाको चुँदी रम्घामा वि. सं. १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहेका नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ ।

भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याइ नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्वर्द्धनका निम्ति अतुलनीय योगदान पुर्याएका थिए । उनलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा पनि चिनिन्छ ।

आदिकवि भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्वपूर्ण भूमिका निभाएको छ । साथै भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण रचना हो ।

नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले आव्हान गरेका छन् ।

भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्न सकेमा नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए । साथै, भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई पनि सबैले मनन गर्नुपर्ने उनले बताए ।

अन्त्यमा, आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै जन्मजयन्तीको यस अवसरले सबै नेपालीहरू बीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवम् संरक्षण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =