सरकारले छोरीहरुलाई नर्स पढ्न नदिएर दुबईमा भरिया बनाएर पठायो : डा.सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माले सरकारले नेपाली छोरीहरुलाई नर्स पढ्न नदिएर विदेशमा भरिया बनाएर पठाएको अरोप लगाएका छन् ।
उनले एउटा विश्वविद्यालयको कार्यक्रम भएको ठाउँमा सिटिइभिटिको कार्यक्रम चलाउन नदिएको बताउँदै उनले भरिया र होमवोर्करको रुपमा सेठहरूको बच्चा स्याहार्न युवा युवतीहरू पठाउने गरेको बताए ।
उनले दुवई , कतार लगायतका देशमा नर्स पठाउनेपर्नेमा भरियाका रुपमा नेपाली छोराछारी पठाइरहेको भन्दै यो भन्दा आपराधिक कार्य अर्को हुन नसक्ने समेत बताएका छन् ।
‘हाम्रामा ५ सय ६ सय जना त इम्प्लोइ हुन्छन् नर्सहरू, बिएन, एमएन गरेका मान्छेहरू छन्, अनि हामी पिएचडी गराउने हैसियत राख्छौँ अनि जाबो स्टाफ नर्स राख्ने कुरामा चैँ सरकारले के भन्छ,’उनले भने ‘एउटा विश्वविद्यालयको कार्यक्रम भएको ठाउँमा, सिटिइभिटिको कार्यक्रम चलाउन नपाउने, भनेको अर्थ जसरी हुन्छ, नेपाली जनताका छोराछोरी, अझ छोरीहरू चैँ नर्स बनाउने होइन, यिनलाई भारी बोकाउने, भरिया बनाउने अथवा कुवेत तिर होमवोर्करको रुपमा, सेठहरूको बच्चाको स्याहार चाकर गर्नको निम्ति दुवै पठाउने त्यो भन्दा आपराधिक अर्को सरकार हुन्छ यहाँ ?’
गत वैशाख १९ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर लिएर हुम्ला पुगेका उनले वर्तमान सरकारलाई मात्र दोष नदिई गत १० वर्षदेखिको सबै सरकारहरू यसमा सहभागी भएको बताउँदै यस भित्र अपराधिकरण भएको बताएका थिए ।
उनले राज्यसत्ता लागेरै यस खालको अपराधिकरण गरेको आरोप लगाए । उनले यस विरुद्धमा आवाज उडाउन सबैलाई अनुरोध समेत गरेका छन् ।
हुम्ला पुगेर उनले नर्सिङ पढाउने दुई बालिकालाई काठमाडौं ल्याएका छन् । उनले ती बालिकाहरूलाई कोचिङ क्लासका लागि सहयोग समेत गरेका छन् । तर, सरकारी नीतिका कारण उनीहरूले समेत नर्सिङ पढ्न नपाउने सम्भावना बढेको बताए ।
‘मलाई यहाँ तिनीहरूलाई कुन बाटोबाट पढाउने भनेर टेन्सन भइरहेको छ’ उनले भने ।
नर्सिङ पढ्न भनेर हुम्लाबाट काठमाडौं आएकी ती बालिकाहरूलाई अध्ययनको लागि वैकल्पिक उपाय खोजिरहेको डा. शर्माले बताए ।



तस्बिर : हुम्लाबाट नर्सिङ पढ्न काठमाडौं आएका बालिकाहरु









