जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शकदीर्घामा पुगे…

काठमाडौँ । काठमाडौँको न्यू होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रूपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् ।
इरिकासँगै सङ्घीय संसद्का बैठक अवलोकन गर्न काँडाघारीस्थित न्यू होली क्रस इङ्लिस सेकेन्डरी स्कूल र नार्गाजुन नगरपालिका–१ स्थित नागार्जुन भ्याली एकेडेमी स्कूलका एक सय १५ जना छात्रछात्रा सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए । अरू विद्यार्थीको प्रतिक्रिया पनि इरिकाको भन्दा फरक छैन । उनीहरूले प्रत्यक्षरुपमा संसदीय गतिविधिलाई नियाल्ने अवसर जुटेकामा निकै फलदायी भएको प्रतिक्रिया दिएका छन् ।
सङ्घीय संसद्का गतिविधिको अवलोकनमा आएका छात्रछात्रा सदनमा उठाइने राष्ट्र, राष्ट्रियता, समसामयिक तथा राजनीति र जनसरोकारका विषयमा प्रत्यक्ष छलफल गरी जानकारी लिन पाएपछि खुसी देखिन्थे ।
संसद् बैठकबाट विद्यार्थी बाहिरिएपछि शिक्षक र विद्यार्थीसँग प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा संवाद गरेका थिए । संवादका क्रममा विद्यार्थीले राखेका जिज्ञासालाई सभापति खतिवडाले अन्तरक्रियात्मक ढङ्गबाट सम्बोधन गरे ।
सभापति खतिवडासँग विद्यार्थीले संसद्मा उठेका जनसरोकारका विषय सम्बोधन हुनेमा कति विश्वस्त हुन सकिन्छ ? आर्थिक वृद्धिदर हासिल गरी सुखी नेपाली समृद्ध नेपालको नारा कहिलेसम्म सफल होला ? वैदेशिक ऋणको भारले गाँजिदै गर्दा के अर्थतन्त्र उकास्न सकिएला ? लगायत प्रश्न सोधेका थिए ।
इरिकाले देशमा कसरी कानुन निर्माण हुन्छ, सदनमा सांसदले के–कस्ता कुरा उठाउँनु हुँदोरहेछ भन्ने जानकारी पाएको बताइन् । सदनलगायत औपचारिक मञ्चमा कस्तो पोसाक लगाएर आउने, कसरी प्रस्तुत हुनेलगायत विषयका बारेमा जानकारी पाइएको उनले प्रतिक्रिया दिइन् ।
संसद् अवलोकनमा आएका विद्यार्थीले कतिपय विषयमा परेको द्विविधाबारे सांसदसँगको छलफलबाट स्पष्ट भएको प्रतिक्रिया दिए । उनीहरूका अनुसार संसदीय अभ्यास, सभामुखको स्थान, जिम्मेवारी र भूमिका, सभाका प्रक्रिया, मर्यादापालकका जिम्मेवारी, सुरक्षा मापदण्ड, दर्शकदीर्घा रहनेले पुर्याउनुपर्ने ध्यान, गर्नुपर्ने नियमको पालना, अनुशासनलगायत विषयका बारेमा जानकारी प्राप्त भएको छ ।
अवलोकनमा जाँदा संसद् भवन प्रवेश गर्ने बेला साथमा लिएर जान नहुने सामग्री तथा जनप्रतिनिधिले बोलेका विषयमा तत्काल सङ्केत गर्न नपाइने विषयमा विद्यार्थीले प्रत्यक्ष अनुभव लिएका छन् ।
सभापति खतिवडाले मुलुकमा भएका समसामयिक विषयमा सरकारका कुरा जनताका बिचमा र जनताका कुरा सरकारलाई बुझाउने दायित्व सांसद र संसद्को भएको प्रतिक्रिया दिए । उनले भने, ‘संसद्ले जहिले पनि सरकार र जनताका बिच पुलको काम गर्छ । सरकार पनि संसद्बाटै चुनिन्छ । चाहेर पनि साधन र स्रोतको अभावमा सांसद र जनताले भनेका सबै सम्बोधन गर्न सक्ने अवस्था हुँदैन ।’
विपन्न, सीमान्तकृत समुदाय, पछिपरेका समुदायका आवाज सरकारमा पुर्याउने काम सांसदले गर्ने र त्यसबारे प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीले सदनमा स्पष्ट गर्ने परम्परा रहेको सभापति खतिवडाले जानकारी दिएका थिए ।
विद्यार्थीलाई कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिँदै सभापति खतिवडाले भने, ‘कानुन मस्यौदाका रूपमा सदनमा प्रवेश पाएका विधेयकमाथि सभा र विषयगत समितिमा सैद्धान्तिक र दफावार छलफल हुन्छ । त्यसमा सांसदबाट संशोधन हालिन्छ । उक्त विधेयक सहमति र बहुमतका आधारमा पारित हुन्छ । त्यसलाई सभामुखले प्रमाणित गर्छन् र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्छ । ऐन भनेको कानुन हो ।’
माध्यमिक विद्यालय तह कक्षा १० अन्तर्गत सामाजिक विषयको पाठ्यक्रममा व्यवस्थापिकाका बारेमा पढाइ हुन्छ । पुस्तकमा चतुर्भजेश्वर माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थीले सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक अवलोकन गरेको प्रसङ्ग उल्लेख छ । सामाजिक शिक्षकको सहयोगमा उनीहरूलाई संसद्को गतिविधि अध्ययन, अवलोकन गराइएको विषय पाठमा उल्लेख गरिएको छ ।
विद्यार्थीसहित बानेश्वर पुगेका नार्गाजुन भ्याली एकेडेमी स्कूलका प्राचार्य उद्धवनारायण हुमागाईंले सामाजिक शिक्षामा सङ्घीय संसद्बारे पढाइ हुने भएकाले विद्यार्थीलाई प्रत्यक्षरुपमा अवलोकन गराउन यहाँ ल्याइएको बताए । उक्त विद्यालयबाट ३७ जना विद्यार्थी अवलोकनका लागि आएका थिए ।
सहकारीको रकम अपचलन भएको भन्ने विषयमा संसदीय छानबिन गठनको विषय लिएर लामो समयदेखि अवरुद्ध हुँदै आएको सदन आइतबारदेखि नियमितरुपमा सञ्चालन भएको हो ।
मुलुकको आर्थिक र पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएको बजेटसम्बन्धी छलफलको पहिलो दिन सांसदको उपस्थिति न्यून देखिएको प्राचार्य हुमागाईंले बताए । उनले भने, ‘विनियोजित बजेट र उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै देश बनाउने लाग्नुपर्दछ । राजनीतिका मतभेद भए पनि विकास निर्माणका विषयमा एकजुट हुनुपर्दछ ।’
संसद् भनेको देशको नीति निर्माण गर्ने र कार्यान्वयनमा ल्याउन बाटो देखाउने ठाउँ भएकाले दलगतभन्दा माथि उठेर बहस पैरवी हुनुपर्नेमा उनले जोड दिए । ‘राष्ट्रका वास्तविक कुरामा छलफल हुनुपर्छ । देश बनाउने विषयमा लाग्नुपर्छ,’ प्राचार्य हुमागाईंले भने ।
न्यू होली क्रस इङ्लिस सेकेन्डरीका प्राचार्य दिनेशकुमार कार्कीले विद्यार्थीले पहिलो पटक सङ्घीय संसद्को बैठक अध्ययन र अवलोकन गरेका बताए । उनले भने, ‘माध्यमिक तहमा संसद्बारे पढाइ हुन्छ । विद्यार्थीलाई कक्षाको सैद्धान्तिक ज्ञान मात्र होइन, अवलोकनमार्फत यहाँका विधि र प्रक्रियाबारे जानकारी दिने उद्देश्यले ल्याएका हौँ ।’
विधायकले जनसरोकारका विषयलाई कसरी उठान गर्छन् भन्ने विषयमा प्रत्यक्ष जानकारी पाइएको जनाउँदै उनले यहाँबाट सिकेका आधारमा विद्यालयमा नमूना संसद्को अभ्यास गर्ने जानकारी दिए ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सम्बन्ध, कार्यसम्पादन र शक्तिसन्तुलनको पाटोमा ज्ञान दिलाउन यस्ता अवलोकन निकै व्यावहारिक हुने कार्कीको प्रतिक्रिया छ । नेपाली जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सबैभन्दा माथिल्लो निकायका रूपमा रहेको सङ्घीय संसद्को मुख्य जिम्मेवारी कानुन र नीति निर्माण गर्ने रहेको जानकारी पाइएको उनको भनाइ छ ।
विधेयक प्रस्तुत, छलफल तथा बहस, आवश्यकताका आधारमा परिमार्जन गरी पारित गर्ने र राष्ट्रपतिसमक्ष प्रमाणीकरका लागि सिफारिसलगायत कानुनी जिम्मेवारी संसद्को रहेको कार्कीले बताए । यी विषयमा विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिइएको उनको भनाइ छ ।
‘सरकार गठन, जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र महाभियोगलगायत प्रशासनिक कार्य विधायिकाको कार्यक्षेत्रभित्र पर्छ । करको दर निर्धारण, सरकारी बजेट स्वीकृत, बजेटमाथि नियन्त्रण, आर्थिक कार्य जिम्मेवारीसँगै संविधान र कानुन संशोधन गर्ने कार्य ससदको भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए ।
बालबालिकाको संसद् अवलोकनलाई व्यवस्थित गर्न संसद् सचिवालयले संस्थागतरुपमा कार्य अघि बढाएको सहप्रवक्ता धमलाको भनाइ छ । विद्यार्थीबाट संसद्को अवलोकन विगतमा दर्शकका रूपमा मात्र सीमित रहेकामा पछिल्लो समय संसद्–नागरिक सम्बन्धको अभिन्न अङ्गका रूपमा ‘दर्शक–दीघ’ को व्यवस्था गरिएको उनले बताए । यहीँबाट संसद्को गतिविधि अवलोकन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
राष्ट्रियसभामा भने दर्शक दीर्घास्थल साँघुरो रहेकाले व्यवस्थापन चुनौती हुने भएपछि विद्यार्थीले अवलोकन गरेका छैनन् । सचिवालयले आगामी दिनमा दर्शक र विद्यार्थीको अवलोकनका लागि सहजता प्रदान गर्ने योजना बनाएको जनाएको छ ।








