चलचित्रलाई गैर नेपालीहरूले पनि हेर्ने स्तरको बनाउन आवश्यक : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैर नेपालीहरूले पनि हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार ईन्टरनेशनल नेटवर्क अफ नेपालीज फिल्ममेकर्स (आईएनएनएफ) अर्थात नेपाली चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जालको प्रथम साधारण सभाको सन्दर्भमा आयोजित ‘सीमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया तथा चलचित्र स्वर्णिम सम्मान—०८० कार्यक्रमको अवसरमा काठमडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली सिने क्षेत्रलाई अब सीमाना पारी पनि बिस्तार गर्न सक्नुपर्ने बताए । उनले सीमाना पारी पुगेका नेपालीहरू समक्ष र गैर नेपालीहरूले हेर्नसक्ने गरी नेपाली चलचित्रको स्तर वृद्धि गर्न जरुरी रहेको बताए । उनले नेपाली सिने जगत अरूसँग पनि प्रतिस्पर्धा गर्नसक्ने किसिमले अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने ‘नेपाली सिने क्षेत्रलाई अब सीमाना पारी अहिलेको विज्ञान प्रविधिको कारणले पनि हामीले नयाँ पन लिएर जानुपर्ने होला । बाहिर सीमाना पारी भनेर नेपाली जहाँ जहाँ पुगेका छन्, त्यहाँ मात्रै होइन, गैर नेपालीले पनि हेर्न रुचाउने सिनेमा बनाउनुपर्छ । त्यो स्तरको चाहिन्छ । अब नेपाली सिने जगत अरूसँग पनि प्रतिस्पर्धा गर्नसक्ने किसिमले अघि बढ्नुपर्छ ।’
कार्यक्रममा बोल्दै कलाकार नीर शाहले चलचित्र क्षेत्रको यो अवस्था हुनुमा चलचित्रकर्मीहरू नै दोषी रहेको बताए । उनले निकृष्टताको सीमा नाघ्न तयार हुने तर उत्कृष्टताको सीमा नाघ्न कन्जुस्याइँ गर्ने काम चलचित्रकर्मीहरूबाटै भएको दाबी गरे । उनले चलचित्रकर्मीहरूले राम्रो नीति त्यागेर नराम्रा नीतिहरू अवलम्बन गरिरहेको बताए ।
उनले भने ‘एउटै कुरामा मेरो असहमति छ । चलचित्र कर्मको यो गति हुनुमा राज्य दोषी होइन, चलचित्र कर्मको यो गति हुनुमा चलचित्रकर्मी नै दोषी छन् । शत प्रतिशत । आँखा चिम्लिएर आफैँ मनन गर्नुस्, सबै स्ष्टि हुन्छ । निकृष्टताको सीमा बरु नाघौँला, उत्कृष्टताको सीमा नाघ्न हामी कन्जुस्याइँ गरिरहेका छन् । सप्रिनुपर्ने पनि चलचित्रकर्मी नै छन् । राम्रा नीति त्यागेर नराम्रा नीति अवलम्बन गर्नेहरू चलचित्रकर्मी नै छन् ।’
उनले चलचित्रकर्मीहरूले आत्मआलोचना र स्वविश्लेषण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा नीर शाह, उद्वव पौडेल, भुवन चन्द, मुकुन्द किशोर भट्टराई र नरेन्द्र खड्कालाई सम्मान गरिएको थियो । साथै चलचित्र क्षेत्रमा योगदान दिने रमेश बुढाथोकी, राजकुमार राई, गौरी मल्ल, रविन्द्र खड्का र करिष्मा मानन्धरलाई सम्मान गरिएको थियो ।








