सिबिफिनले भन्यो- ‘बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार र बदनियतपूर्ण भ्रम फैलाइयो’

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार तथा बदनियतपूर्ण भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार सिबिफिनले एक विज्ञेप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी अफवाह फैलाइएको कार्यहरूप्रति आपत्ति जनाएको हो ।
सिबिफिनले मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौँ ग्राहकहरूलाई अन्तर्राष्ट्रियकरण बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका गतिविधिहरू बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।
सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरशः पालना गर्दै सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अत्यन्त सबलीकरण र पारदर्शीरुपमा सञ्चालन हुने सुनिश्चितता गर्न कानुनी व्यवस्था लागू गरिएको तथ्य रहेको सिबिफिनले उल्लेख समेत गरेको छ ।
१) बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम सञ्चालन हुने ।
२) अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भई विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारबाही हुने ।
३) बैंक तथा वित्तीय संस्थाहरूको आर्थिक परिसूचकहरू जस्तै Capital Adequacy Ratio, Liquidity Ratio, CD Ratio, Cash Reserve Ratio लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरूको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुगमन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने ।
४) नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु। ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने, समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।









