त्रिशूलीमा ‘गाडी खसेको’ सूचना, खोज्दै गोताखोर टोली

काठमाडौं । त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना आएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना आएको हो ।
स्थानीयले सूचना दिएपद्धि अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले बताए । उनकाअनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका हुन् । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।
पानीमा बत्ती बलेको पनि देखिएपछि अहिले चाहिँ बत्ती निभेको उनले बताए । ‘नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन,’ उनले भने, गोताखोरको टोली डुंगा लिएर नदीमा छिरेको छ, त्यो टोलीले पत्ता नलगाएसम्म एकिनका साथ केही भन्न सक्ने अवस्था छैन ।’








