चार दिनदेखि बनेन सर्भर, हस्तलिखित एनओसी दिने तयारी

काठमाडौँ । सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण रोकिएको छ । गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएपछि एनओसी वितरण रोकिएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिए । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै दिनभर नाराबाजी गरेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत बिहीबारदेखि सर्भर डाउन भएर सेवा अवरुद्ध भएपछि विद्यार्थी चार दिनदेखि धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित विद्यार्थीले नाराबाजी गरेका हुन् । वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्ना साथ सेवा सुरु हुने उल्लेख गर्दै सूचना टाँस गरेपछि अझै सेवा सुरु भएको छैन ।

भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी नो अब्जेक्सन लेटर पाउन नसक्दा मारमा परेका छन् । विद्यार्थीले चार दिनसम्म पनि सर्भर बनाउन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप लगाएका छन् । डाटा भरिएर सर्भर डाउन भएको भन्दै कार्यालयका प्रमुख शान्तिराम पौडेलले कम्प्युटरको हार्डडिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराउँदा ती सबै डाटालाई रिकभर गर्न समय लागेको बताए ।

उनले सर्भर खोल्ने प्रयास भइरहेको बताउँदै खोल्ने बित्तिकै सेवा दिइने प्रतिबद्धता जनाए । सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =