पद्मकन्याका विद्यार्थी दुबई र बहराइनका होटलमा इन्टर्नशिप गर्दै

काठमाडौँ । पद्मकन्या क्यम्पस बागबजारले स्नातक तहमा होटेल म्यानेजमेण्ट अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई नेपालसहित दुवई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउन थालेको छ ।
त्रिवि अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसले प्रथम समूहका विद्यार्थीहरुलाई नेपाल, दुबई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाएको हो ।
होटेल व्यवस्थापनमा तीन वर्षको कोर्ष अध्ययन गरेपछि एक वर्ष होटल एवं पर्यटन क्षेत्रमा इन्टर्नशिप गर्नुपर्ने प्रावधान छ ।
पद्मकन्या क्यम्पसले विद्यार्थीहरुलाई विदेशमा इन्टर्नशिपमा पठाउँदा प्रतिविद्यार्थी पचहत्तर हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराएको छ ।
हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य बीमा व्यवस्थापनमा सो रकम उनीहरुले खर्च गरेको क्याम्पसले जनाएको छ ।
त्रिवि पद्यकन्या क्याम्पस स्नातक तह, होटेल म्यानेजमेण्टका निर्देशका उमेश रेग्मीले इन्टर्नशिपमा विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध दिएर विदेश पठाएको नेपालकै लागि यो नविन अभ्यास भएको बताए ।
उहाँले कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई होटल, पर्यटन एवं सम्बन्धित अन्य व्यवसायमा आवश्यक पर्ने ज्ञान, सीप प्रदान गरी दक्ष जनशक्ति तयार गर्नु रहेको बताए ।
उनले भने, ‘विद्यार्थीहरुले तीन वर्षसम्म आफू भर्ना भएको कलेजहरुमा अध्ययन गरेपछि एक वर्ष स्वदेशी तथा विदेशी होटल एवं पर्यटन क्षेत्रमा इन्टर्नशिपका लागि जानु पर्दछ । यसरी इन्टर्नशिपमा विदेश जाँदा नेपालका अधिकांश विद्यार्थीले कन्सल्टेन्सीमा चर्को शुल्क बुझाएर जानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा पद्मकन्या क्याम्पसले नेपालमै पहिलो पटक आफ्ना प्रथम समूहका विद्यार्थीहरुलाई आफ्नै सञ्जालको माध्यमबाट पत्राचार गरी नेपाल, दुवई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउन सफल भएको छ भन्न पाउँदा हामीलाई गौरव अनुभुति भएको छ । यसरी विदेशमा इन्टर्नशीप पठाउदा प्रतिविद्यार्थी ७५,००० (पचहत्तर हजार रुपैयाँ) छात्रवृत्ति दिइएको थियो । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य बीमा व्यवस्थापनमा उक्त रकम उनीहरुले खर्च गरेका थिए । यसरी इन्टर्नशीपमा विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध दिएर विदेश पठाएको नेपालकै लागि यो नविन अभ्यास हो । क्याम्पसमा स्नातक तहको बीएचएम कार्यक्रमलाई बीएचएम प्लसको रुपमा अध्ययन–अध्यापन भइरहेको छ । बीएचएम प्लस भनेको विद्यार्थीहरुलाई नियमित पाठ्यक्रमको अतिरिक्त होटेल तथा पर्यटन व्यवसायलाई आवश्यक पर्ने दक्ष जनशक्ति, व्यवसायिक क्षमता विकास गर्नु हो । यस्ता व्यवसायिक कक्षाका लागि विद्यार्थीसँग अतिरिक्त शुल्क लिइएको छैन ।’
यसै शैक्षिक सत्रदेखि बीएचएम कार्यक्रमका विद्यार्थीहरुलाई अतिरिक्त कक्षा अन्तर्गत आधारभुत तहको चिनियाँ भाषा कक्षा सञ्चालन गरिने बताए ।








