एइक्यानको प्रथम वार्षिक साधारणसभा भदौ २३ गते काठमाडौँमा हुने

काठमाडौँ । सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान) ले प्रथम वार्षिक साधारणसभाको आयोजना गर्ने भएको छ । जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका व्यवसायीहरूको छातासंगठन एइक्यानले प्रथम साधारण सभा आयोजना गर्ने तयारी गरेको हो।

संघले यही भदौ २३ गते शनिवार काठमाडौँको शंखपार्क स्थित स्मार्ट दरबार व्याङ्क्वेटमा प्रथम साधारण सभा आयोजनाको तयारी गरेको छ। साधारण सभाले १७ सदस्यीय पूर्ण कमिटीको घोषणा गर्नेछ।

संघको तदर्थ समितिको अध्यक्षमा किशोर तिवारी, उपाध्यक्ष केशव राज अर्याल, सचिव शिव प्रसाद सुवेदी, कोषाध्यक्ष अनिल भण्डारी र ६ जना सदस्य गरी दश सदस्यीय कमिटी रहेको छ।

कोषाध्यक्ष अनिल भण्डारीका अनुसार संघले जापानसँग सम्बन्धित परामर्श प्रदान गर्ने र व्यवसायीको हकहितमा काम गर्ने भएकाले सदस्यता दर्ता प्रक्रियामा चाहिने सम्पूर्ण कागजात पूरा गर्ने जुनसुकै जापानको काम गर्ने संस्थाले यसको सदस्यता लिन सक्नेछन् ।

उनले आगामी दिनमा यस क्षेत्रमा भएका समस्यालाई समाधान गर्दै जापानका स्कुल कलेजहरूसँग समन्वय गर्ने, सामाजिक कामहरू गर्ने, जापानको डकुमेन्टमा देखिएका समस्याहरूलाई सकेसम्म एकरूपता गराउने, अतिरिक्त क्रियाकलाप गर्ने, जापानको राजदूतावास, भिएफएस र विदेश अध्ययन अनुमतिपत्र (एनओसी) को लागि शिक्षा मन्त्रालय लगायतका विभागसँग एइक्यानले समन्वय गर्ने बताए।

उनले भने,‘ यस संस्थाले यस क्षेत्रलाई कसरी हुन्छ मर्यादित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यस संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई स्वच्छ प्रतिस्पर्धामा रहेर काम गर्ने वातावरण बनाउने र यस क्षेत्रको हकहितका लागि काम गर्नेछ।’

हाल यस संस्थामा ७४ वटा जापान अध्ययन सम्बन्धी सेवा प्रदायक संस्था आबद्ध भइसकेका छन्। अहिले केही समयका लागि संस्थामा दर्ता प्रक्रिया रोकिएको र साधारण सभा पश्चात् कागजात प्रक्रिया पुगेका नयाँ सदस्यहरूलाई पनि सदस्यता दिइने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =