स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किल

भजनी । कैलालीको  टीकापुर शैक्षिक नगरीको रूपमा परिचित छ । शैक्षिक क्षेत्रमा टीकापुरको नाम स्थापित गर्ने पहिलो विद्यालय हो, वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय ।  वि.सं २०२६ मा टीकापुर आवासीय माध्यमिक विद्यालयको नामबाट स्थापना भएको सो विद्यालय २०४३ सालमा वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको नाममा परिवर्तन गरिएको थियो  । टीकापुरमा प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषयको अध्यापन गराउने पहिलो विद्यालय पनि हो ।
शैक्षिक क्षेत्रको विकाससँगै यतिबेला शैक्षिक क्षेत्र निकै प्रतिस्पर्धी बनेको छ । टीकापुरमा विज्ञान विषयको अध्यापन चार विद्यालयमा हुन्छ । स्नातक तहमा अध्यापन हुने विषय आफूअनुकूल नहुँदा विद्यार्थी बाहिर पलायन हुने गरेको गणेश खत्री बताउँछन् । ‘मैले प्रवीणता प्रमाणपत्र तहसम्म विज्ञान विषय लिएर अध्ययन गरेँ । त्योभन्दा माथिल्लो कक्षामा विज्ञान अध्यापन टीकापुरमा हुँदैन । मेरो पारिवारिक स्थितिले बाहिर गएर अध्ययन गर्ने स्थिति थिएन’उनी भन्छन् ‘अन्तिममा गणित विषयको अध्ययन गर्नुपर्‍यो । अहिले त्यहीँ गणित विषयको अध्यापन हुन छाड्यो भन्ने सुनिन्छ ।’
विज्ञान विषयको उच्च शिक्षाका लागि टीकापुरमै पढेका विद्यार्थी पनि अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता छ । ‘हामीले विद्यार्थीलाई रोक्न सकेका छैनौँ । हामीले उत्पादन गरेका विद्यार्थी काठमाडौँ केन्द्रित हुन्छन् । हामीले पाउने विद्यार्थी भनेको आर्थिक अवस्था कमजोर भएर बाहिर जान नसक्ने, पहाडबाट आएकालाई हो ।’ वीरेन्द्र विद्या मन्दिर माविका प्राचार्य फणेन्द्रराज रेग्मी बताउँछन् ‘माथिल्लो कक्षासम्मको अध्यापन गर्ने शैक्षिक संस्था पनि हामीसँग छैन । त्यो भन्दा पहिले नै बाहिर गएर पढ्दा राम्रो हुन्छ भन्ने सोच अभिभावक र विद्यार्थीको छ ।’
कर्णाली माध्यमिक विद्यालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि विद्यार्थीलाई रोक्न निकै गाह्रो भएको बताउँछन् । ‘प्राविधिक विषयमा अध्ययन गर्ने सोच भएका विद्यार्थी अहिले रोकिन थालेका छन् । अन्य विषयको अध्ययन गर्ने विद्यार्थीलाई रोक्न सकिएको  छैन ।’ उनी भन्छन् ‘अहिले विद्यार्थीमा विदेश जाने लहर चलेको छ । त्यो लहरले पनि विद्यार्थीलाई टीकापुरमै रोक्न सक्ने स्थिति छैन ।’ उनले अभिभावकसँग समन्वय र छलफल चलाउन आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले त्यसको जिम्मेवारी लिएर बालबालिकालाई स्थानीय क्षेत्रमै अध्ययनका लागि वातावरण बनाउनका लागि पहल गर्नुपर्ने बताए ।
आरएमई स्कुलका प्राचार्य तेजराज खनालले उच्च शिक्षाका लागि टीकापुरमा पर्याप्त वातावरण भइनसकेको भन्दै पछि बाहिर जानैपर्ने स्थितिमा पहिले नै विद्यार्थी पलायन हुने गरेको बताउँछन् । उनले शिक्षा क्षेत्रमा प्रतिस्पर्धाको क्रम चलेको जनाउँदै अभिभावकलाई विश्वास दिलाउन सक्ने कार्यक्रम सञ्चालन गर्न सके विद्यार्थीलाई टीकापुरमै रोक्न सकिने भनाइ छ  । ‘परीक्षामा नतिजाको कुरा गर्दा राम्रै आएको छ । शैक्षिक गुणस्तरमा विद्यालय जिम्मेवार छन् । त्यति हुँदा पनि राम्रो विद्यार्थीलाई हामीले रोक्न सकेका छैनौँ’ उनी भन्छन् ‘अझै निजी तथा संस्थागत विद्यालयमा अध्ययन गरेको विद्यार्थीको सपना नै उच्च शिक्षाका लागि विदेश जाने हुन्छ ।’
विद्यार्थीको आकर्षण  प्राविधिक शिक्षामा बढी छ । त्यो सँगै माथिल्लो तहसम्मको अध्यापनको भविष्य हेरेर विद्यार्थीले आफ्नो अध्ययनलाई अगाडि बढाउन थाकेका छन् । ‘हाम्रो पालामा लहैलहैमा लागेर विषय रोज्ने  गरिन्थ्यो, मैले विषय रोज्दा पनि साथीको लहैलहैमामा लागेर रोजे’, स्थानीय ईश्वर डंगौराले भन्छन् ‘अहिले त्यो पढाइले काम गरेन । न भविष्य बन्यो न राम्रो जागिर नै । तर अहिले त्यो छैन । सम्भावना जहाँ छ त्यहाँ विद्यार्थी केन्द्रित भएको देख्न सकिन्छ ।’
टीकापुरमा अहिले चार कृषि प्राविधिक पढाइ हुने क्याम्पस छन् । दुई क्याम्पसले आइएसी तहको अध्यापन गराउँछन् भने दुई क्याम्पसले बिएससी तहको अध्यापन गराउँदै आएका छन् । त्यो विषयमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । अन्य विषयमा विद्यालयलाई विद्यार्थी पाउनै मुस्किलजस्तो छ । कुनै बेला टीकापुर बहुमुखी क्याम्पसमा विद्यार्थीको चापलाई त्यहाँको जनशक्तिले थेग्न मुस्किल हुन्थ्यो । अहिले क्याम्पसलाई विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ । क्याम्पसको साख कृषि विज्ञान सङ्कायले जोगाएको स्थानीय अगुवा बताउँछन् ।
‘हामीले विद्यार्थीको आवश्यकताअनुसारका विषय हाम्रा शैक्षिक संस्थामा थप्न नसक्नु पनि एक समस्या हो । अर्को समस्या भनेको विद्यार्थी र अभिभावकलाई लाभ हुने खालका हाम्रा कार्यक्रम छैनन्’, नागरिक अगुवा भीमराम चपाईँले भन्छन् ‘विद्यार्थी र अभिभावकको आवश्यकतालाई बुझ्न जरुरी छ । शैक्षिक संस्थामा पनि त्यहीँअनुसारको फेरबदल गर्नुपर्छ र विद्यार्थीलाई रोक्ने वातावरणमा स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्छ ।’
टीकापुर प्राविधिक शिक्षालयका प्रमुख पारस खड्काले प्राविधिक क्षेत्रमा विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको बताउँछन् । कक्षासँग भन्दा सीपसँग बढी महत्त्व राख्ने भएकाले पनि प्राविधिक शिक्षामा आकर्षण बढेको उनको भनाइ छ ।
‘अबको शिक्षा सीपसँग जोडिएको हुनुपर्छ । हिजोका दिनमा साथीको लहैलहैमा लागेर विषय रोज्ने चलन थियो, त्यो साँचो हो, त्यसले परिणाम राम्रो ल्याउन सक्दैनथ्यो’ उनी भन्छन् ‘अहिले कसैको लहैलहैमा नभई छिटो रोजगार हुने शिक्षामा सबैको ध्यान छ । सम्भावनाअनुसार विषयको माग भइरहेको छ ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =