इक्यान निर्वाचन : काे हुन् फिलिप डिसी ?

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङका संस्थापक सिइओ फिलिप डिसीले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय कार्यसमितिको आसन्न निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिएका छन् । इक्यानको समग्र हित तथा प्रतिष्ठा प्रवर्द्धन गर्न र यस क्षेत्रको व्यवसायिक क्षमता अभिवृद्धि गर्न उम्मेदवारी दिएको उनी बताउँछन् ।
दाङमा जन्मेका डिसीको बाल्यकाल भने चितवनमा बितेको थियो । उनी जन्मिएपछि उनको परिवार चितवनमा बसाई सरेको थियो । उनले चितवनमै विद्यालय तथा काठमाडौँबाट प्लस २ सम्मको अध्ययन पूरा गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि बेलायत पुगेका उनले त्यहाँबाट एमबीएसम्मको अध्ययन पूरा गरे । अध्ययनकै क्रममा उनी बेलायतमै रहेर शैक्षिक परामर्श व्यवसायमा संलग्न भए । र, शैक्षिक परामर्श सेवा दिन थाले । त्यपछि भने उनलाई नेपालकै शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्यो । अनि आफ्नो मातृभूमि नेपाल फर्किए ।
नेपाल फर्केपछि डिसीले बेलायतमा आफूले प्राप्त गरेको अध्ययन र अनुभवलाई संगालेर व्यावसायिक रूपमा राइटपाथ करियर काउन्सिलिङ नामक शैक्षिक संस्थाको स्थापना गरी सञ्चालनमा ल्याए ।
देश विदेशको अनुभव अँगाल्दै सञ्चालक सिइओ भएर उनले सञ्चालन गरेको राइटपाथ करियर काउन्सिलिङ शैक्षिक संस्थाले हाल नेपालका ११ स्थानमा शाखा विस्तार गरिसकेको छ ।
सानैदेखि सामाजिक कार्यमा रुचि राख्ने उनी ‘रग्बी खेल’को लुम्बिनी उपाध्यक्ष समेत बने ।
उनले खेल क्षेत्रमा मात्र नभएर मिडिया क्षेत्रमा पनि सक्रिय रही अनुभव बटुलेका छन् । भने, सामाजिक कार्यमा समेत उत्तिकै संलग्न रहेका छन् ।
उनी शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्दै इक्यानमा आबद्ध रहेर सामाजिक कार्यका साथै विदेश अध्ययन गर्न जाने विद्यार्थीका हरेक समस्या निडर भई कार्य गर्दै आएका छन् । डिसी शैक्षिक परामर्शमा आबद्ध मानिसका हरेक समस्यामा सक्रिय रूपमा लाग्ने एक निडर, विश्वासिलो व्यक्तित्वका रूपमा समेत परिचित छन् ।
आउँदो ३० असारमा हुन लागेको इक्यान कार्यसमिति निर्वाचन २०८० का लागि विष्णुहरि पाण्डेको समूहबाट सचिव पदमा उम्मेदवारी दिँदै डिसीले आफ्नो एजेन्डाहरू सार्वजनिक गरेका छन् ।
यस्ता छन् डिसीका एजेन्डाहरु
१. इक्यान संस्थागत विधि र विधानअनुसार चल्नुपर्छ र यसको आफ्नो प्रशासनिक कार्यालय भवन हुनुपर्छ ।
२. शैक्षिक परामर्श सेवालाई शैक्षिक उद्योगको रूपमा सरकारले मान्यता दिनुपर्छ ।
३. आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको उच्च शिक्षाका लागि सरकारले बिना सर्त कर्जाको व्यवस्था गर्नुपर्छ ।
४. नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने मात्रै होइन, विदेशी विद्यार्थीहरू नेपालमा पढ्न आउने वातावरण सिर्जना गरिनुपर्छ ।
५. शैक्षिक परामर्श क्षेत्र उच्च सम्मानित एकताबद्ध र पूर्ण पारदर्शिता हुनुपर्छ ।
६. एनओसीलगायतका समस्यामा समग्र विद्यार्थीको हित हुने गरी कानुनी प्रबन्ध गरिनुपर्छ ।
७. इक्यानलाई गैर–राजनैतिक तथा पूर्ण व्यावसायिक संस्थाको रूपमा विस्तार एवम् सञ्चालन गरिनुपर्छ ।
८. शिक्षालाई व्यवहारिक बनाउन राज्यले शैक्षिक परामर्श संघ लगायत क्षेत्र सँग नीतिगत र व्यवहारिक तहसम्म सहकार्य गर्नुपर्छ ।
९. गैरकानुनी रूपमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थाहरू अविलम्ब बन्द गर्नुपर्छ ।
१०. नेपाललाई विश्वकै एउटा एजुकेसन हब बनाउनुपर्छ जसका लागि परामर्श क्षेत्रको विज्ञता राज्यले भरपुर उपयोग गर्नुपर्छ ।
११. विदेशमा रहेका विद्यार्थीको स्वास्थ्य तथा शिक्षामा बिमाको प्रबन्ध राज्यले अविलम्ब गर्नुपर्छ ।
१२. विदेशी विश्वविद्यालयसँग सहकार्यको क्षेत्र भएका हुनाले शैक्षिक परामर्शको अनुमति संघीय सरकार मातहत हुनुपर्छ । साथै विदेशमा नेपाली विद्यार्थीले हासिल गरेको ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने प्रबन्ध राज्यले गर्नुपर्छ ।
शैक्षिक, सामाजिक रूपमा सक्रिय शैक्षिक व्यवसायी फिलिप डिसीले अमूल्य भोट दिई विजय गराउन सम्पूर्ण इक्यानियनलाई अनुरोध गरेका छन् ।








