आठौँ कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु महानगरको ज्यादती : आयोजक

काठमाडौँ । निजी शैक्षिक संस्थाको साझा सञ्जालले आठौँ कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु काठमाडौँ महानगरको ज्यादती भएको आरोप लगाएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले आठौँ कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु काठमाडौँ महानगरको ज्यादती भएको आरोप लगाएका हुन् । आयोजकमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशन लिमिटेड रहेका छन् ।

उनीहरूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति र जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँ महानगरपालिकालाई जानकारी दिएर सुरु भएको मेला कुनै लिखित जानकारी बिना नै कर्मचारी सुरक्षाकर्मीको साथमा बन्द गराउनु न्यायोचित नभएको उनीहरूको ठहर छ ।

पत्रकार सम्मेलनमा बोल्दै हिसानका उपाध्यक्ष युवराज शर्माले काठमाडौँ महानगरपालिकाका प्रहरीहरूले माथिको आदेश भनी हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध गरी विद्यार्थी र अभिभावकको सुसूचित हुने अधिकार वञ्चित गराएको बताए ।

उनले भने ‘उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशन लिमिटेडको संयुक्त आयोजनामा २०८० जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा आठौँ कान्तिपुर हिसान एडु फेयर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा उद्घाटन भइसकेको मेला दिउँसो अचानक गैर कानुनी ढङ्गले काठमाडौँ महानगरपालिकाका प्रहरीहरूले माथिको आदेश भनी हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध गरी विद्यार्थी र अभिभावकको सुसूचित हुने अधिकार वञ्चित गराएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति र जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँ महानगरपालिकालाई जानकारी दिएर सुरु भएको मेला कुनै लिखित जानकारी बिना नै कर्मचारी सुरक्षाकर्मीको साथमा आएर जेठ ३२ गते बन्द गराएको उक्त ज्यादतीपूर्ण हस्तक्षेपको घोर भर्त्सना गर्दछौँ ।’

आयोजकले शिक्षा जगतलाई नै तरङ्गित र आतङ्कित बनाएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =