नेपालमा पठन संस्कृति मासिँदै गएकोमा पत्रकारहरुको चिन्ता

काठमाडौं । लेखक एवं पत्रकारहरुले नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरुले पठन संस्कृति मासिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनीहरुले सञ्चारमाध्यमहरुमा पनि असम्पादितत सामग्रीहरु बढी प्रशारण र प्रकाशन हुनु चिन्ताको विषय भएको बताए । उनीहरुले सञ्चारमाध्यमहरुको नियमनकारी निकाय नहुँदा यस्ता घटना बढीरहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक रामप्रसाद रेग्मीले देशमा पठन संस्कृति हराउँदै गएको बताए । उहाँले पुस्तकमा भन्दा अहिलेको समाज टिकटक र अन्य सामाजिक मिडियामा बढी रमाउने गरेको बताए । उहाँले सञ्चारमाध्यममा प्रकाशन एवं प्रशारण भएका लेखहरुको पनि शिर्षक मात्रै पढ्ने संस्कृति बढी विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गरे ।
उनले भने, ‘हामी आज एउटा ठूलो क्राइसिसमा छौँ । पठन संस्कृतिमा हाम्रो देशमा हराउँदै गएको छ । यस्तो दिन थियो कुनै दिन हामीले क्लासमा गएर दुई चार वटा कितावको बारेमा केही भन्यो भने लाइबेरीमा प्रेसर पर्दथ्यो तर अहिले टिकटक भए तुरुन्त शेयर हुन्छ । तर कितावको नाम लियो भने कसैले किनेर पढ्दैनन् । किताव पढ्छन्, आर्टिकल पढ्छन् भन्ने मलाई लाग्दैन, टाइटल र फस्र्ट प्याराग्राफ मात्रै पढ्छन्, हाम्रो किताव पठन संस्कृतिको धेरै अभाव हुँदै गएको छ । मानिसका दिमागहरुबाट सिर्जित यी पुस्तकहरु एउटा पुस्ताबाट अर्को पुस्तामा लैजानका लागि अध्ययन नै हो । यसलाई हामीले रिस्टोर गरेर अघि बढ्न जरुरी छ ।’
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार कुन्दन अर्यालले सञ्चारमाध्यममा सम्पादित भन्दा असम्पादित समाचार सामग्री प्रशारण एवं प्रकाशन बढ्दै जानु चिन्ताको विषय भएको बताए । उनले सञ्चारमाध्यमहरुले यस्ता कुरामा ध्यान दिएर अघि नबढ्ने हो भने यसको असर समाज र आम नागरिकमा पर्ने बताए । उनले गलत र मिथ्या समाचारले भ्रम सिर्जना गरिरहेको भन्दै यस्ता समाचार सामग्रीहरुको प्रकाशन र प्रशारणमा रोक लगाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘पुस्तकमा प्रविधि र समाजको बारेमा सचेत गराइएको छ । हरेक समयमा एउटा प्रविधिले लिड गर्छ भन्नेकुरालाई यसमा लेखाइएको छ । समाजमा कम्युनिकेशन डोमिनेट कम्युनिकेशन छ । प्रशिक्षित पत्रकारहरु विज्ञ नै हुनुपर्छ । डिस इन्फरमेश र मिस इन्फरमेशनलाई कम गर्दै जानुपर्छ । हामी एडिटेड कन्टेनमा बढी फोकस गर्नुपर्छ । तर अहिले सम्पादित कन्टेन भन्दा अनएडिटेड कन्टेनहरु बढी गएको छ । यो चिन्ताको विषय छ ।’
कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले नयाँ सञ्चारमाध्यमहरुको बढोत्तरी भएपनि नियमनकारी निकाय हुन नसक्दा समस्या आइरहेको बताए । उनले नियमनकारी निकाय नहुनु नै बेथिति र विसंगतिको कारण भएकाले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
उनले भने, ‘अहिले अनलाइन मिडिया यति धेरै आइसके र मिडियै मिडिया भइसक्यो, तैपनि नियामक निकाय छैन । नियामक निकायको रुपमा अस्तिसम्म सञ्चारमन्त्रालय थियो, सञ्चार मन्त्रालयले धान्न नसकेर सूचना प्रशारण विभागमा डाइभर्ट भएको छ । नियमनकारी निकाय नहुनु नै बेथिति र विसंगतिको कारण हो ।’
कार्यक्रममा अन्य वक्ताहरुले एकले अर्काको राम्रो भन्ने प्रवृत्तिबाट मुक्त भइ राम्रो भएकाहरुको साथ र टेवा दिने र नराम्रो भएकाहरुलाई सच्याउन आग्रह गर्नेकुरामा जोड दिने संस्कृतिको विकास गर्नुपर्ने बताए ।








