सरकारको दौडमा एमाले छैन, देशलाई सम्हाल्न परे आउँछ : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिले नेकपा एमाले सरकार बनाउने दौडमा एमाले नरहेको बताएका छन् । उनले अहिलेको गठबन्धनले नै सरकार बनाउने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था देखिएको बताए ।
प्रेस चौतारीले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले अहिलेको गठबन्धन भताभुङ्ग भएर गयो, देश आर्थिक तथा राजनीतिक दुबैको संकटमा परेको खण्डमा समाल्न एमाले आउने बताए । उनले अहिलेको गठबन्धनले सरकार बनाए पनि आर्थिक संकट र राजनीतिक अस्थिरता रहने अवस्था देखिएको बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘देश भड्खालोमा जाने अवस्था भयो, गठबन्धनले देशलाई रुपान्तरण गर्न सकेनन्, गठबन्धन आफैँ टुढफुट भयो देश नै अव्फ्ठयारो अवस्थामा पर्न जाने भयो भने, त्यतिबेला एमाले समाल्न आउनेछ, नत्र अहिले एमाले सरकारमा जाँदैन, प्रतिपक्षमा बस्न तयार छ।
अहिलेको सरकार धेरै दल मिलेर बन्ने भएको कारण यसले देशलाई आर्थिक समृद्धिमा नलैजाने नेता पाण्डेको दावी थियो । उनले भने, ‘यो वर्षमा धेरै प्रधानमन्त्री बन्ने संकेत पनि देखिएको छ, किनभने एउटा पार्टीको बहुमत छैन ।’
उनले भोलि गठबन्धन भताभुङ्ग भयो, देशलाई निकास दिन पर्ने अवस्था आयो भने कांग्रेस र एमाले मिलेर सरकार बन्न सक्ने पनि बताए । नेता पाण्डेले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था त छैन, तर भविष्यमा यसलाई नकार्न सकिदैन, किनभने विगतमा एमाले र कांग्रेस मिलेर सरकार बनेका पनि छन् ।’
‘अहिले उहाँहरुले मिलाएर सरकार बनाउनुहोला तर देशलाई अप्ठेरै पर्ने कुनै अवस्था आयो भने एमालेले सरकारमा सहभागी नभएर पनि समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ,’ पाण्डेले भने, ‘सरकारमा गएर पनि देशलाई समाल्न पर्ने अवस्था आयो भने एमाले पछि हट्दैन ।’
उनले बाम एकता वा बाम गठबन्धनको सम्भावना तत्काल नरहेको बताए ।
‘माओवादी, एकीकृत समाजवादी कांग्रेससँग मिलेर चुनाव लडेका छन्, मिलेर सरकार बनाउने भनिरहेका छन्, यस्तो अवस्थामा ती दलसँग एमालेको एकता हुँदैन,’ नेता पाण्डेले भने, ‘भोलि घुमेर आउँछन् भने एकीकरणको सम्भावना रहन्छ ।’ नयाँ दलहरुले आफ्नो चुनौतीलाई कसरी सामना गर्न सक्छन् भन्ने विषयमा भोलिका दिनले बताउने पाण्डे बताउँछन् ।
उनले भने, ‘परीक्षणको लागि उनीहरु संसदमा जाँदैछन्, परीक्षा हुन बाँकी छ । भोलि कसरी आफूलाई अघि बढाउँछन् भन्ने विषयमा हेर्न बाँकी छ ।’









