तस्बिरमा वर्षाको असर

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । “काठमाडौँ उपत्यकाका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ, शनिबार दिउँसोबाट विस्तारै सुधार हुँदै जानेछ, पश्चिममा भारी वर्षा भइरहेको छ,” उनले भने, “गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम विस्तारै खुल्दै जान्छ ।”

महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका केही, कर्णाली प्रदेशको थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा आज भारी वर्षा हुने जनाएको छ ।

देशका विभिन्न ठाउँमा डुबान संगै लगातार वर्षाका कारण पहिरोले सडकहरू अवरूद्ध भएका छन् ।

२३-तस्बिरमा वर्षाले पारेको प्रभाव :

तनहुँको घिरिङ गाउँपालिका-३ खिलामा बिहीबार दिउँसो खसेको पहिरा हटाइँदै । दुई दिनदेखि परेको वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् ।
तीन दिनको अविरल वर्षाका कारण घोराही-१४ झिगौरामा भत्किएको घर । मानवीय क्षति नभए पनि घर बस्न नमिल्ने गरी भत्किएको छ ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा वर्षा र हुरीवतासले खेतमा नै ढलेको धान । पाक्नै लागेको धानवालीमा क्षति पुगेपछि किसान निरास भएका छन् ।
शुक्लाफाँटा नगरपालिका-१० झलारीका स्थानीय महिला बर्षाको पानीले ढालेको धानका मुठा बाध्दै । निरन्तर तीन दिन देखिको बर्षाले भित्र्याउन ठिक्क भएको धानबाली ढालेर नोक्सन गरेको छ ।
वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका-१ चौफेरी गाउँ डुबान । घर भित्रसमेत पानी पसेपछि स्थानीय घरपरिवारलाई प्रहरी र रेडक्रसकर्मीको टोलीले उद्धार गरी सुरक्षित स्थानमा लग्दै ।
जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउरालीमा शुक्रबार पहिरो जाँदा अवरुद्व भएको श्रृङ्गपथ मार्ग । जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने उक्त मार्ग पहिरा जाँदा पूर्ण रुपमा अवरुद्व भएको हो ।
चार दिनदेखिको निरन्तर वर्षाका कारण माथिदेखि झरेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड । यस खण्डको दर्जनौँ स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ मादी पुल नजिक शुक्रबार बिहान खसेको पहिरो । अविरल वर्षासँगै खसेको पहिरोले पृथ्वी राजमार्गका दुई ठाउँ अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण वीरेन्द्रनगरको तल्लो भागमा डुबान हुन थालेपछि सुरक्षित स्थानमा जाँदै स्थानीय बासिन्दा ।
वीरेन्द्रनगरको तल्लो क्षेत्र अलायचौर र घोग्रेनी बीच भागमा रहेको बडिगाड खोलामा आएको भेलले डुबानमा पारेको क्षेत्र । अविरल वर्षाका सुर्खेतको विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ ।
अविरल बर्षाका कारण शुक्रबार व्यास नगरपालिका–१ निर्मलबस्तीमा पहिरा जाँदा जोखिममा परेका तीन घर । पहिराका कारण खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिमग्रत छन् ।
अविरल बर्षाका कारण डुबानमा परेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय । बुधबारदेखिको बर्षाका कारण यहाँका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् ।
भरतपुर महानगरपालिका– १ देवघाटमा शव दाहासंस्कार स्थलको मलामी विश्रामगृह भवनमा नारायणीको बाढीले डुबेका चिया र खाजा पसल ।
आरुघाट गाउँपालिका–१, मान्वु स्थित स्याम्चेतमा पहिराबाट बिस्थापित भएका २८ घरपरिवारको पुनस्र्थापनाका लागि घर निर्माण कार्य सुरु । गाउँपालिकाको वडा नम्बर २ मा बिस्थापितहरुको स्थानान्तरणका लागि घर निर्माण गर्न लागिएको हो ।
नवलपुरको कावासोती स्थिती पूर्व–पश्चिम राजमार्गमा अविरल वर्षापछि भरिएको पानी । पानीको उचित निकास नहुँदा राजमार्गमा पानी भरिने गरेको छ ।
पानीको उचित निकास नहुँदा नवलपुरको कावासोती बजार क्षेत्रमा डुबानमा परेका घर ।
पानीको उचित निकास नहुँदा नवलपुरको कावासोती बजार क्षेत्रमा डुबानमा परेका घर ।
पहिरोबाट आउजाउ नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित ‘ठूलोखोला–भँगेरी–देउराली सडक खण्ड’मा अविरल वर्षासँगै पहिरो गएर अबरुद्ध भएको सडकबाटै बच्चा बोकेर आउजाउ गर्न बाध्य पैदल यात्री । हालै परेको अविरल वर्षाले उक्त सडक खण्ड सहित बेलकोटगढी नपाको विभिन्न स्थानका एकसय भन्दाबढी ठाँउमा पहिरो गएको छ ।
नवलपुरको सदरमुकाम कावासोतीको दुःखका रुपमा चिनिने केरुङ्गे खोलामा आएको बाढी । केरुङ्गेले बर्सेनि कावासोतीको खेतीयोग्य जमिन कटान गर्नेगरेको छ ।
बर्दियाको गुलरिया इन्द्रपुरस्थित हुलाकी सडकमा चार दिनदेखि अविरल वर्षापछि भरिएको पानी ।
महाकाली राजमार्गअन्तर्गत बैतडीको खिरेगाउँ सडक खण्डमा डेडलाइट बालेर गुडिरहेको जीप । गएरातिदेखिको निरन्तर वर्षाले यातायात सेवा प्रभाावित भएको छ ।
मनाङको नासों गाउँपालिका–३ खोत्रोस्थित सडकमा बाढी र पहिरा जान लागेको भीर । बङ्गालको खाडीबाट विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तर–पश्चिमतर्फ सर्दै जाने क्रममा मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण मनाङको मेरुदण्डको बँेसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ मादी पुलनजिक शुक्रबार भासिएको सडक । तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण सडकको भाग भासिएको हो ।

सबै तस्बिर : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =