नेपालमा लगानी आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियामा अन्तरक्रिया

काठमाडौँ । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीलाई आग्रहसमेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चित घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्त्व रहेको बताए । अर्थमन्त्री शर्माले कोरियामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका छन् ।
‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चित घटेको छ,’ उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको छ । अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ्ग प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईँहरूले सहजीकरण गर्नुर्यो ।’
द्रुत आर्थिक विकास र समृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै उनले कोरियामा रहेका नेपालीहरुलाई मुलुकमा वैदेशिक लगानी र नयाँनयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गरे ।
कोरियामा ग्लोबल आइएमई बैंकले शाखा स्थापनाको प्रक्रिया अगाडि बढाएकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चित घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकहरुमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनका लागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रक्रिया सुरु गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरेका छन् ।
‘म यहाँका गैर आवासीय नेपालीसाथीहरु तथा गैर आवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘आउनुहोस्, तपाई हामी हातेमालो गरेर अगाडि बढाैँ। तपाई हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको समृद्धि सम्भव छ । नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईँहरूले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाईँहरूको लगानीको सुरक्षा गर्न हामी तयार छौँ । म निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्ष, नेपालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष तथा नेपालको एउटा व्यवसायिक समूह, आइएमई
समूहको अध्यक्षको हैसियतले यहाँहरुलाई निर्धक्कसँग नेपालमा लगानी भित्र्याउन र भित्र्याउने वातावरण निर्माण गर्न अनुरोधसमेत गर्न चाहन्छु ।’
आइएमई समूहले गैर आवासीय नेपालीहरुसँगको सहकार्यमा लमजुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अरु धेरै परियोजना पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैर आवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरुमा काम गर्न सकिने बताए ।
उनले ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रक्रिया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्वीकृति पर्खिरहेको बताए ।
‘दक्षिण कोरियामा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सैद्धान्तिक स्वीकृति लिइसकेका छौँ,’ उनले भने, ‘स्थानीय कानुनी परामर्शदाताको माध्यमबाट दक्षिण कोरियाको नियामक निकायमा बैंकको शाखा स्थापनाका लागि औपचारिक रुपमा अनुरोध गरेका छौँ । अबको केही समयभित्र बैंकको शाखामार्फत सम्पूर्ण बैंकिङ्ग सेवाहरू सञ्चालन हुनेछ ।’
दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरू नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि तयार रहेको बताए ।
कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर, वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल तथा गैर आवासीय सङ्घका प्रतिनिधिहरूले कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खोल्दा वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सहज हुने बताए ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्लोबल आइएमई बैंकले ल्याएको विदेशी मुद्रा खाता, यसको सञ्चालन प्रक्रिया र यसका फाइदाबारे प्रस्तुतिकरण गरेका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =