निगम र ट्यांकर व्यवसायीको भाडा विवादले हवाई इन्धन असहज, वायु सेवा कम्पनीलाई घाटा

काठमाडौँ । नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीको भाडा विवादले हाल नेपालको पश्चिमी विमानस्थलहरुमा हवाई इन्धनको आपूर्ति असहज बन्दै गएको छ । यो विवादले खास गरी पश्चिमको धनगढी तथा नेपालगञ्जलगायत विमानस्थलमा हवाई इन्धन उपलब्ध हुन छोडेपछि वायु सेवा सञ्चालक मर्कामा परेका छन् ।

नेपाल आयल निगमका लागि पश्चिमका विमानस्थलहरुमा हवाई इन्धन ढुवानी गर्ने पेट्रोलियम ट्यांकर व्यवसायीहरुले चालक तथा मजदुरको तलबभत्तासहित सरकारले वृद्धि गरेको भाडादर लागू गर्न माग गरेका छन् । तोकिएको भाडा वृद्धि गरेर आफूहरुले पाउनु पर्ने ज्याला बढाउन माग गरेका छन् । तर, नेपाल आयाल निगम सञ्चालक बोर्डले भने हाल निगम घाटामा गएको भन्दै केही समय भाडा नबढाउने अडान लिएको छ । तत्काल तलब वृद्धि नभए ढुवानी रोक्ने चेतावनी सहित ढुवानी चालक तथा मजुदरले भारतबाट हवाई इन्धन ढुवानी गर्न छोडेपछि पश्चिमका विमानस्थलहरुमा हवाई इन्धनको अभाव भएको हो ।

पश्चिमका विमानस्थलहरुका लागि चाहिने हवाई इन्धन भारतीय आयल कर्पोरेशनको गोन्डा, मुगलसराय, बेतालपुर, बन्थरालगायत डिपोबाट आयात गर्ने गरिएको छ । यी डिपोबाट ढुवानी मजदुरले ढुवानी रोकेपछि समस्या आएको हो । सरकारले तोकेअनुसारको तलब वृद्धि गर्ने हो भने इन्धन ढुवानीमा संलग्न मजुदरहरुको तलबसहितको भाडा रुटअनुसार बढीमा ५ प्रतिशतसम्म बढ्ने छ ।

हाल १ हजार ९ सयको हाराहारीमा ट्यांकर व्यवसायीले भारतका विभिन्न डिपोबाट हवाईलगायत इन्धन ढुवानी गरिरहेका छन् । अन्य स्थानमा पनि यस्तो हड्ताल भयो भने देशभरी नै यो समस्या देखिने छ ।

निगमले सार्वजनिक सूचना नै जारी गरेर वायु सेवा सञ्चालकहरुलाई काठमाडौँ विमानस्थलबाट हवाई इन्धनको भरेर तत्काल सेवा सञ्चालन गर्न भनेपछि वायु सेवा प्रदायक कम्पनीहरुले आफूहरुले घाटा हुने बताइरहेका छन् ।

वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सोमबार साँझ विज्ञप्ति नै जारी गरेर हवाई इन्धन सहज रुपमा उपलब्ध गराउन आग्रह गरेका छन् ।

पश्चिम नेपालका धनगढी, नेपालगञ्ज जस्ता विमानस्थलमा उडान गर्ने जहाजले काठमाडौँबाटै इन्धन भर्नु परेको अवस्थामा उनीहरुले तौलको सीमाका कारण प्रत्येक उडानमा यात्रुको संख्या कम गर्नुपर्ने बाध्यता हुन्छ । यात्रुको संख्या कम गर्दा वायु सेवा कम्पनीहरुलाई घाटा हुन जान्छ ।

अर्कोतर्फ नेपालीहरुको महान् चाडपर्व नजिक आइसकेकाले अब काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रबाट अफ्नो गाउँ फर्किने यात्रुले सहज यात्राका लागि हवाई यात्रा गर्ने समय भएकोले पनि इन्धन आपूर्ति सहज बनाउन अध्यक्ष थापाले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =