देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट)बाट २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर ०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युतको परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए।

उनका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ। ‘फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको छ,’ आयोजना प्रमुख रघुवंशीले भने, ‘मौसमअनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको छ।’ फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका– ६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। सौर्य फार्म विदुर– ६ र १२ मा पर्दछ।

०७४ जेठ ३ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास ०७५ वैशाख १४ मा गरिएको थियो। एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीबाट ढिलो गरेर तयार भएको डिजाइन परामर्शदाता कम्पनीले पुनरावलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न थप ढिला गरेसँगै फार्म निर्माणको काम डेढ वर्ष पर धकेलिएको हो। निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले ०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा ०७७ माघमा १.५ मेगावाट विद्युत् उत्पादन गरेको थियो।

आयोजनाको पूर्ण क्षमता ९२५ मेगावाट० गत भदौ १० गतेदेखि थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ। सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्म आफैँले निर्माण गरेको ३३/६६ केभी २५ एमभिए क्षमताको सबस्टेसनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युतगृहको सबस्टेसनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्‍याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ। ‘सीधै प्रसारण प्रणालीमा पठाएकाले ब्याट्री राखेर विद्युत् सञ्चय गरिएको छैन,’ उनले भने, ‘मौसम सफा भएको मध्याह्नको समयमा २५.२ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, परीक्षण अवधिमा दैनिक एक लाख युनिट विद्युत् उत्पादन भएकाले आयोजनाको निर्माण सफल मानिएको हो।’

सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ। अब नियमित उत्पादन सुरु गरिने आयोजना पक्षले जनाएको छ। यद्यपि फार्ममा जडान गरिएका सौर्य प्यानल सफा गर्न चाहिने पानीपोखरी, संरक्षणका लागि लगाउनुपर्ने घेराबार र पर्खाललगायतका केही भौतिक संरचना निर्माणको काम जारी रहेकाले आयोजना सम्पन्न भएको जानकारी दिन अझै एक महिना लाग्ने निर्माण व्यवसायीले नेपाल विद्युत् प्राधिकरणलाई जनाएको छ। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =