नागरिकताविहीनको समस्या अन्त्य हुन्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन् ।
शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका– १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आएपनि पुनः पठाउने बताए । उनले यसपटक भने नागरिक विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए । मन्त्री कार्कीले यो टकरावको बेला नभएकोले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताए ।
उनले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको बताए ।
मन्त्री कार्कीले भने, ‘नागरिकता विधेयकलाई संसद्को दुवै सदनबाट पारित गराएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाइएको थियो । तर अहिले राष्ट्रपतिजीले केही सुझावसहित त्यो विधेयकलाई फिर्ता गर्नुभएको छ । त्यो विधेयकलाई फेरि प्रतिनिधिसभाले अगाडि जसरी पारित गरेको थियो । त्यसरी नै पारित गरेको छ । अब राष्ट्रियसभामा पारित हुनेछ । कतिपय पत्रपत्रिकामा मैले देख्ने गर्छु । कतिपय ठाउँहरुमा मैले टिप्पणी भएको सुन्ने गरेको छु । अब संसद र राष्ट्रपतिको बीच टकराव आयो । यो टकरावको बेला होइन ।’
मन्त्री कार्कीले चाँडै नै राष्ट्रियसभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताविहीनको समस्या अन्त्य हुने बताए ।








