डा. बाबुराम भट्टराईसँग ४ विकल्पहरू छन् !
काठमाडाैँ । आफूले करिब ८ वर्ष सहकार्य गरेको समूहले नेपाल समाजवादी पार्टी गठन गरिरहेको सन्दर्भमा आफ्नो राजनीतिक बुझाइ र अडान प्रष्ट पार्नु सायद मेरो अधिकार र कर्तव्य दुवै हाे । मेरो अनुभव र बुझाइमा यो समूह र विशेषतः यसका मूल नेता डा.बाबुराम भट्टराई अहिले चौरास्ता, चार मनस्थितिमा हुनुहुन्छ । यसलाई एकप्रकारको महादुविधा (द ग्रेट डिलेमा) भन्न सकिन्छ। यसका सामु निम्न ४ बाटाहरू छन् ।
१. नेकपा (मसाल) नेता मोहनविक्रम सिंहको प्युठान र चित्रबहादुरको बाग्लुङमा जस्तै गोर्खा र सर्लाहीमा सीमित प्रभाव भएको एउटा सानो दलका रूपमा खुम्चिनु ।
२. कथित समाजवादी केन्द्रको नाममा कुनै कम्युनिष्ट समूह वा कम्युनिष्ट समूहहरूकाे एकतामा सामेल भइ विलयन हुनु ।
३. डा. भट्टराई मंसिरपछि राजनीतिक सन्यासमा जानु र समूह नै तितरबितर हुनु ।
४. बृहत् अर्थमा वैकल्पिक राजनीतिको पुनर्गठनका लागि एक घटकका रूपमा योगदान गर्नु ।
यो समूहले एक्लै अब वैकल्पिक राजनीतिको पुनर्गठन र नेतृत्व गर्न सक्दैन तर, चाहेमा नयाँ र बृहत् परिप्रेक्ष्यमा योगदान गर्ने घटक भने हुन सक्छ ।
यी ४ मध्ये कुन बाटोमा जान्छ भन्ने प्रष्ट नहुन्जेलसम्म यसैको पार्टी सदस्य भएर बस्छु । यसको अनुमानित अवधि मंसिर मसान्तसम्म हो । नेतृत्वमा किन बसिनँ भने अहिलेको मोडेलको पुनर्गठनमा मेरो सहमति थिएन र त्यसको नैतिक बोझ उठाउने सामर्थ्य मसँग रहेन । नेतृत्वमा बस्दा अहिलेको मोडेलमा मेरो पनि समर्थन छ भन्ने बुझिन्थ्यो ।
यस प्रक्रियामा डा.भट्टराईसँग भएको मेरो अन्तिम फोन संवादको एकटुक्रा जस्ताको त्यस्तै—कदाचित मनमा चौथो बाटो हिँड्न उचित हो भन्ने भावना आयो भने सांस्कृतिक क्रान्तिको असफलतापछि माओले श्रमशिविरमा बसेका देङ सियाओ पिङलाई सम्झेजस्ताे हामीलाई सम्झिनुहाेला ।
फोनमै गज्जबले हाँस्नुभो ! तर कुनै उत्तर दिनुभएन ।
- सम्बन्धित समाचार
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय