मन्त्रीकाे अध्यक्षतामा ६५७ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मूल समाराेह समिति गठन

काठमाडौँ । राष्ट्रिय युवा परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकको अध्यक्षतामा ६५७ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह आयोजक समिति गठन गरिएको छ ।

बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा सरोकारवाला तथा विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरूको उपस्थितिमा आयोजित वृहत् भेलाबाट मूल समारोह समिति बनाइएको हो । समितिमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत सहित सबै सदस्यहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहनेछन् ।

कार्यक्रममा खेलकुद मन्त्री गहतराजले अन्तरपुस्ताको ऐक्यबद्धता, सबै उमेर समूह मैत्री विश्व निर्माणमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको सो नारा नेपालमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि लागी पर्न सदस्यहरूलाई आग्रह गरे । उनले साउन २७ गतेको युवा दिवसमा सातै प्रदेशका ७ सय ५३ वटै पालिकामा सरकारी अस्पतालमा सरसफाइलगायत रचनात्मक र सचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए ।

यसै गरी युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको संयोजकत्वमा सचिवालय समेत गठन गरिएको छ । दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रूपमा मनाउन सो समिति बनाइएको उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

यस्तै विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि,परिषद् सम्बद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आबद्ध संघ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहनेछन् । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने अभिप्रायले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउँदै आइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *