एनआईसी एशिया बैंक २५औँ वर्षमा प्रवेश

काठमाडाैँ । एनआईसी एशिया बैंक स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैठकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, शेयर धनी, कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेको छ ।

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौं’, रजत जयन्तीका अवसरमा बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रोशन न्यौपाने सीईओ रहेको बैंकले यस २५ वर्षको यात्रामा आर्थिक वर्ष ०५६-०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयर धनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ । प्रतिफल आजको बजार मूल्यमा रु. ९,५२०.९७ बराबर पुगेको छ । यस्तै बैंकले कुल रु १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ भने गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको थियो ।

यसैबीच बैंकले गत आ.व. २०७८-७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७८/७९ मा खुद मुनाफातर्फ रू. ४.५३ अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, प्रति शेयर आम्दानी तर्फ रू. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निश्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत पुगेको छ ।

बैंकले आ.व. २०७८/७९ को चौथो त्रैमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरू कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकको हाल मुलुकभर रहेका ३५९ शाखा कार्यालय छन् भने ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =