भरतपुरमा जलमग्न चुनावी सभास्थलको सरसफाइ सुरु

चितवन । सत्तारुढ गठबन्धनले भरतपुरमा गर्न लागेको चुनावी सभास्थलको सरसफाइ गर्न सुरु गरेको छ।

भ्याकुमको प्रयोग गरी चुनावी सभास्थलको सरसफाइ थालिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार सोही ठाउँमा आज सभा आयोजना गरिनेछ। यतिबेला भ्याकुमबाट ताल परेको पानी फाल्न सुरु गरिएको छ। हिजो रातिको वर्षाका कारण कार्यक्रमस्थल डुबानमा परेपछि आज बिहानदेखि उक्त ठाउँको पानी हटाउन थालिएको हो। पानी फाल्नका लागि पाँचवटा जेनेरेटेरको प्रयोग गरिएको छ भने त्यत्तिकै संख्यामा भ्याकुमको प्रयोग गरिएको छ। तीन घण्टाभित्र पानी पन्छाइ ११ बजे कार्यक्रम सुरु गर्ने तयारी गठबन्धनको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संबोधन गर्ने गठबन्धनको चुनावी सभास्थल रातिको पानीले जलमग्न भएको हो। सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवन पुगिसकेका छन्। आचारसंहिता विपरीत सभामा आएको भन्दै प्रधानमन्त्री देउवाविरुद्ध उजुरीसमेत परेको छ। भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी, भुइँकटहर चुनाव चिह्न लिएर कांग्रेसका नेता जगन्नाथ पौडेल, विवकशील साझाबाट प्रविन काफ्लेलगायतले उमेदवारी दिएका छन्।

आज हुने भनिएको गठबन्धनको आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले सम्बोधन गर्ने भनिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *