क्रिप्टो करेन्सी काराेबार गरेको आरोपमा दुईविरुद्ध मुद्दा, ९ करोड ७४ लाख बिगो

काठमाडौँ । राजस्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबार, अमेरिकी डलर सटही कारोबार गरेको आरोपमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले मोरङका मोरङका पुस्कर श्रेष्ठ र बिनिता लिम्बुबिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेको विज्ञप्तीमार्फत जनाएको छ ।
उनीहरुले ‘विभिन्न बैंकका बैंक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट उनीहरुले मिलिमतो गरी मोबाइल एप्स वानएक्सबेट, बाइनान्स, एडक्यास, क्वाइनबेस, प्याक्सफुल प्रयोग गरि विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको पाइएको’ विभागको आरोप छ ।
‘उनीहरुले विभिन्न एप्समा रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रही कार्य गरेको’ विभागले उल्लेख गरेको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार, एनआईसी एशिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार गरी ७ करोड ५७ लाख ७१ हजार अबैध कारोबार गरेको देखिएको छ । बिनिता लिम्बुले एनआईसी एशियाबाट २ करोड १६ लाख ९८ हजार रुपैयाँ अपचलन गरेको पाइएको छ।’
विभागले उनीहरुसँग ९ करोड ७४ लाख ६९ हजार ९ सय त्रियासी रुपैया छब्बिस पैसा बिगो भराउन र सजाय दिन माग गरेको छ ।









