चैत्र ७ गतेभित्र गाडीभाडा बढाउन सरकारलाई यातायात व्यवसायीकाे अल्टिमेटम

काठमाडाैँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत्र ७ गतेभित्र सार्वजनिक सवारीको भाडा वृद्धि गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गतेभित्र भाडा समायोजन गर्न सरकारलाई अनुरोध गर्ने र सरकारले भाडा वृद्धि नगरे बाध्य भएर एकपक्षीय रूपमा भाडा वृद्धि गर्ने चेतावनी दिएको हो ।
महासंघले सार्वजनिक बसमा ९ प्रतिशत, ट्रकमा ११ देखि १३ प्रतिशत र पेट्रोलबाट चल्ने सवारी साधानमा ८ दशमलव ५ प्रतिशत भाडा वृद्धि गर्नुपर्ने माग राखेको छ । त्यस्तै वाग्मती प्रदेशमा ट्याक्सीको फ्लग डाउन रु ८० र पल्स २ सय मिटरको रु १० लाई आधार मानी भाडा समायोजन गर्नुपर्ने महासंघले जनाएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष यागेन्द्रनाथ कर्माचार्यले पेट्रोलियम पदार्थ र सवारी साधानको लागतको मूल्य बढ्दा पनि भाडा समायोजना हुन नसकेको भन्दै भाडा समायोजनका लागि राज्यसंग आग्रह गरिएको जानकारी दिए । वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई मात्र आधार मानी इन्धनमा भएको मूल्यवृद्धिको अनुपानमा भाडा समायोजन हुनुपर्ने उनको भनाई छ । चैत्र ७ गतेभित्र माग पुरा नभए बाध्य भएर भाडा समायोजन गर्न बाध्य हुने उनको भनाई छ ।
महासंघले सरकारबाट २०७८ असार २७ गते समायोजन भएको भाडादर पर्यटक सवारीको हकमा समायोजन नभएकाले वैज्ञानिक भाडा समायोजन गर्न पनि माग गरेको छ ।








