प्रधानमन्त्री र म पुँजीगत खर्च बढाउन लागेका छौँ : अर्थमन्त्री

पोखरा । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन् ।

कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए ।

‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौं’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थालेका छन् । मैले त बुधबार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरी पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’

उनले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताए ।

‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन,’ उनले भने । प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले बताए ।

पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हाँसिल नभएको उनले बताए । गत वर्ष पनि पँुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले भने, ‘गत बर्षको माघ मसान्तसम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो बर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याई बजेट कार्यान्वयन नै ढिला हँुदा पनि गत वर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ,’ उनले भने ।

केही आयोजनाको काम सम्पन्न भएपनि भुक्तानी गर्न बाँकी रहेकाले पँुजीगत खर्च लक्ष्यअनुसार नदेखिएको उनले बताए । आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएको र त्यसमा आफू आशावादी रहेको उनले बताए ।

अर्थमन्त्री शर्माले बाहिर भनिए जस्तो अर्थतन्त्र निराशजनक नरहेका समेत उनले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =