डलर हालसम्मकै महँगो, भारु कमजोर बन्दा नेपाली रुपैयाँलाई असर

काठमाडौँ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलर हालसम्मकै महँगो भएको छ । अर्को शब्दमा भन्दा डलरको तुलनमा नेपाली मुद्रा हालसम्मकै कमजोर भएको छ ।

नेपालका वाणिज्य बैंकहरुले सोमबार १२३ रुपैयाँ ४५ पैसासम्ममा एक अमेरिकी डलर बिक्री गरेका छन् । जबकी आइतबार १ अमेरिकी डलर बैंकहरुले १२२ रुपैयाँ १६ पैसामा बिक्री गरेका थिए ।

यसअघि २०७६ चैत ४ गते १ अमेरिकी डलरको मूल्य सबैभन्दा बढी १२३ रुपैयाँ २८ पैसासम्म पुगेको थियो । अहिले उक्त दिनको मूल्यलाई समेत उछिनेर डलरको मूल्य उकालो लागेको हो । तर, डलरको तुलनमा नेपाली मुद्रा कमजोर हुनुमा नेपालको अर्थतन्त्र भन्दा भारतीय अर्थतन्त्र जिम्मेवार देखिएको छ ।

नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग सम्बन्धित (पेग्ड) गरिएको छ । भारतीय १ रुपयेको बराबर नेपालको १ रुपैयाँ ६० पैसाको दर निर्धारण गरि भारतीय मुद्रासँग नेपाली मुद्राको विनियदर निर्धारण गरिएको छ । यसले गर्दा डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा त्यसको त्यसकै आधारमा नेपाली मुद्रा पनि कमजोर हुने गरेको छ ।

हाल रसिया र युक्रेनबीच युद्ध चरिरहेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको माग बढेको छ । रसियाको मुद्रा रुबलको मूल्य घटेको छ । डलर महँगिँदा त्यसको असर भारतीय मुद्रा र नेपाली मुद्रामा परेको छ ।

नेपालमा आयात गरिने धेरैजसो सामान डलरमै खरिद गर्नुपर्ने भएकोले पनि नेपालले डलर खरिद गर्नुपर्ने हुन्छ । डलरको मूल्य बढ्दा सबैभन्दा पहिला नेपालीले दैनिक उपभोग गर्ने पेट्रोलियमको मूल्य बढ्छ । पेट्रोल, डिजेल र ग्यासमा मूल्य बढ्दा यातायातको भाडा, ढुवानीलगायत हरेक जसो वस्तु तथा सेवाको मूल्य बढाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =