अनसनरत विद्यार्थीकाे पठनपाठन सञ्चालन गर्न संसदीय समितिकाे निर्देशन

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले तीन महिना पढाइ छुटेका विद्यार्थीलाई पुनः कक्षा सञ्चालन गर्न कलेजलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले कलेजले छात्रावास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताए ।
उनले तत्काल चिकित्सा शिक्षा आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । घर्तीले मेडिकल कलेजले कानूनले तोकेको भन्दा बढी नै शुल्क लिने गरे तापनि नियन्त्रण गर्न कठिनाई भएको बताए ।
बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले एबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले कलेजको एमबीबीएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्ने जस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए । उनले आगामी बोर्ड बैठकले कारबाहीबारे निर्णय गर्ने धारणा राखे ।
त्यस्तै समिति सदस्य जीवनराम श्रेष्ठले मानसिक त्रास नहुने गरी पढ्ने वातावरण बनाउनुपर्ने र गलत काम गर्ने कलेजलाई कारवाही हुनुपर्ने बताए ।
त्यस्तै, सांसद नविना लामाले विद्यार्थीको समस्याबारे आयोग संवेदनशील हुनुपर्ने धारणा राखे ।
कलेजमा अध्ययनरत १० विद्यार्थीले समितिमा कलेजले आफूहरूसँग अतिरिक्त शुल्क मागेको र नदिएपछि विगत तीन महिनादेखि पठनपाठन गर्न नदिएको भन्दै उजुरी दिएका छन् । आयोगले उपत्यका बाहिर एबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार रुपैयाँ तोकेको छ । तर कलेजले आयोगले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाएका छन् ।








