ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा

बागलुङ । नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

२०७५ वैशाखमा माइक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधी सहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोवाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भीओ एलटीई सहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताए । शर्माले भने– ‘भौगोलिक विकटता र दुरदराजमा रहेका नागरिक अनि त्यहाँ पुग्ने पर्यटकलाई लक्षित गरि यो सेवा शुभारम्भ गरेका हौँ यसबाट स्थानीयबासी र त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु लाभान्वित हुनेछन्।’

यसअघि उक्त टावरमा विद्युत नहुँदा सोलार सेट मार्फत टावर सञ्चालनमा थियो जसका कारण हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या थियो अब भने विद्युत जडान भए सँगै उक्त समस्या हटेको छ । ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजना सँगको समन्वय, जनप्रतिनिधि, त्यहाँ रहेको नेपाली सेना र स्थानीयबासीको सहयोगमा नेपाने डाँडामा विद्युत सेवा पुर्याइएको छ । विद्युत पुराउन टेलिकमले समेत बजेट व्यवस्थापन गरेको थियो ।

बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका–९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरी आफ्नो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका–९ का फल्लेघर, पाखाथर,
छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले जानकारी दिए ।

समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय स्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनको लागि ढोरपाटन नगरपालिका–८ को बोबाङमा रिपिटर स्टेशन राखी माईक्रोवेभ रेडियो लिङ्क मार्फत सेवा सञ्चालन गरिएको छ ।

अब कपिलवस्तु सालझण्डी देखि ढोरपाटन सम्मको सडक अन्तर्गत बोबाङदेखि ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्ष सम्मका भू–भागमा मोबाइल सेवा पुगेको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।

यसअघि टेलिकमले उक्त स्थानमा विसं २०६३ देखि पुरानो भिस्याट प्रविधि प्रयोग गरी तार लाइन टेलिफोन, क्रमशः सीडीएमए सेवा र जीएसएम टुजी सेवा सञ्चालन गरेको थियो । भिस्याट प्रविधिमा भ्वाइसमा सीमित क्षमता र डाटा चलाउन नमिल्ने भएकोले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन् ।

भौगोलिक विकटता विविध कठिनाईका बाबजुत ग्रामीण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले ढोरपाटन उपत्यकामा जिएसएम मोवाईल सेवालाई स्तरोन्नती र विद्युतीकरण गर्न एक वर्ष देखि गृहकार्य गरिरहेको थियो ।

फोरजी मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाईस तथा मोबाइल डाटा मार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपुर्ण ठाउँ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकाबासीले यस क्षेत्रको प्रचार प्रसार र सूचना आदान प्रदानको निमित्त मोबाइल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =