राजधानीमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो दिइने

काठमाडौँ । सरकारले संघीय राजधानी काठमाडौँ उपत्यकामा अध्ययनरत दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

देशका दुर्गम जिल्लाहरुबाट काठमाडौं उपत्यकामा आई स्नातक र स्नातकोत्तर तहको अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने तयारी भइरहेको हो । यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र(एईपीसी)ले आवेदन आह्वान गरिरहेको केन्द्रका जैविक ऊर्जासम्बन्धी वरिष्ठ अधिकृत डा. कुन्दन पोखरेलले बताए ।

‘हामीले आवेदन आह्वान गरिसकेका छौँ,’ उनले भने, ‘एईपीसीको वेवसाइटमा गएर आवेदन भर्न सकिन्छ । २५ फागुनसम्म आवेदन दिने समय छ ।’ यसका लागि सरकारले दुर्गम क्षेत्र भनेर सूचीमा राखेकाे जिल्लाका विद्यार्थी हुनुपर्ने छ । सम्बन्धीत कलेजले सिफारिससमेत गर्नु पर्दछ । नागरिकता र परिचय पत्रकाे चाहिन्छ ।

पोखरेलका अनुसार तोकिएको म्यादभित्र प्राप्त आवेदनका आधारमा विद्युतीय चुलोको माग कति आउँछ भन्ने विषय स्पष्ट हुन्छ । त्यसपछि हामी त्यही माग बराबरको चुलो खरिद गरेर वितरण गर्ने छौँ । विद्युतीय चुलो भनिए पनि इन्डक्सन, इन्फ्रारेड वा माटे हिटर वा ई–चुलो जस्ता विभिन्न प्रकारका विद्युतीय चुलो मध्ये कुन चुलो वितरण गर्ने भन्ने तय भइसकेको छैन । जुन उपयुक्त हुन त्यही विद्युतीय चुलो वितरण गरिने उनले बताए ।

‘आयातीत ग्यासलाई सकेसम्म आफ्नै विद्युत्ले विस्थापन गर्ने सरकार तथा नेपाल विद्युत् प्राधिकरणको नीति अनुरुप एईपीसीले विद्यार्थीलाई सहयोग गर्न लागेको हो,’ उनले भने, ‘यसका लागि एईपीसीले स्रोतको व्यवस्था गरिसकेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =