एमसीसी कार्यान्वयनले आर्थिक वृद्धिमा सघाउँछ : महासंघ

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदले अनुमोदन गरेपछि निजी क्षेत्रको संगठन नेपाल उद्योग बाणिज्य महासंघले स्वागत गरेको छ।
प्रतिनिधिसभाले केही बुँदामा रहेको अस्पष्टता समेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन गरेको भन्दै महासंघले स्वागत गरेको छ।
नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो। सम्झौता अनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम हुने छ। सम्झौता अनुमोदनपछि अब यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने महासंघको विश्वास छ।
नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने महासंघले जनाएको छ।
कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढन सकेको छैन। सम्झौता कार्यान्वयन हुदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको समेत ढोका खुल्ने महासंघले सोमबार विज्ञप्ति जारी गरेर जनाएको छ।
एमसिसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने महासंघको भनाइ छ। अब यसबाट प्रतिफल लिन सम्झौता कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले तदारुकताका साथ काम गर्नुपर्ने भन्दै महासंघले यसका लागि सरोकारवाला सबैले खबरदारी गर्नु पनि आवश्यक रहेको जनाएको छ ।
तीन दर्जन बढी मुलुकमा एमसीसी अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको भन्दै महासंघले विज्ञप्तिमा भनेको छ, पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि वहानामा प्रभावित हुनु हुँदैन भन्नेमा महासंघ स्पष्ट रहेकाे जनाएकाे छ।









