नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ गतेदेखि हुने

काठमाडाैँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण चैत १७ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।
आयोजक निफले सोमबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै चैत्र १० गते हुने भनिएको महोत्सव चैत्र १७ गतेबाट हुने जानकारी दिएको हो । महोत्सवको मिति प्राविधिक कारणका कारण परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
यसवर्षको निफमा ३८ देशका ८९ फिल्महरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधामा १४ वटा पुरस्कार दिइने पाठकले बताए । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने यस वर्षको नारा रहेको छ ।
यो वर्ष नेपाली प्रतिस्पर्धामा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ । प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पचास हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष पाठकले बताए ।
गतवर्ष कोरोना महामारीको कारण भर्चुअल रूपमा आयोजना भएको निफ यसवर्ष राष्ट्रिय सभा गृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमै सञ्चालन हुने आयोजकले जनाएको छ ।








