वीरेन्द्रनगरका पूर्जाविहीनलाई लालपूर्जा दिन आयोग समक्ष माग

सुर्खेत । विभिन्न समयमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा बसाइँसराई आएका पूर्जाविहीन नागरिकलाई समेट्न राष्ट्रिय भूमि आयोग सुर्खेतसमक्ष माग गरिएको छ ।

भूमिहीन पठान टोल खाद्य अधिकार समूहले शुक्रबार जिल्ला समन्वय समितिमा रहेको आयोगको कार्यालयमा पुगेर वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको तत्काल लालपूर्जा दिन माग गरेको हो ।

‘२०२४ सालदेखि दैलेखको तल्लोडुंगेश्वर र जाजरकोटका विभिन्न ठाउँबाट बसाइँ सरेर हाल वीरेन्द्रनगरमा बसोबास गरिरहेका छौँ,’ भूमिहीन पठान टोल खाद्य अधिकार समूहका अध्यक्ष रनेबहादुर सुनारले भने, ‘लामो समयदेखि जग्गाको लालपूर्जा र स्वामित्व नहुँदा खाद्य अधिकारबाट समेत बञ्चित भएकाले पुर्जा दिलाउन आयोग समक्ष माग पत्र बुझाएका छौँ ।’

वीरेन्द्रनगर नगरपालिका–१० मा पूर्जाविहीन ११८ घरधुरीको ४५० कठ्ठा जग्गा रहेको छ । यहाँ ७३३ जनाको जनसंख्या छ । आफूहरु भोगचलन गर्दै आएको जग्गा आफ्नै नामको लालपूर्जा कायम गर्न समूहको माग छ । पठान र शान्ति टोलमा हाल पूर्जाविहीन दलितका ८५, जनजातिका १० र अन्य जातिका २३ घरधुरी छन् ।

लालपुर्जा नभएकै कारण सरकारी सेवा सुविधा पाउनबाट बञ्चित भएको उनिहरुको गुनासो रहेको छ । भोगचलन गर्दै आएको जग्गा आयोगको मापदण्डअनुसार उपलब्ध गराउनु पर्ने र छुटेका घरधुरीलाई समेट्नु पर्ने उनीहरुको माग छ ।

यस्तै, फियान नेपालले पठान र शान्ति टोलमा बस्दै आएका सीमान्तकृत समुदायको स्वस्थ जीवनयापनका लागि सांस्कृतिक रुपमा स्वीकार्य पर्याप्त र पोषणयुक्त खाद्य अधिकार सुनिश्चितताको लागि समान हक, अधिकार, अवसरमा पहुँच स्थापित गरिरहेको जनाएको छ ।

फियान नेपालका कर्णाली संयोजक प्रकाश नेगीकाअनुसार ५४ वर्षदेखि बसोबास गर्दै आएका उनीहरुको आवाज उठान गरेर सरोकारवाला निकायमा पुर्याउने गरिएको छ । यो बस्तीका नागरिकले ज्याला मजदुरी गर्दै दैनिक छाक टार्ने भएकोले खाद्य अधिकारबाट बञ्चिन हुन नदिने र दिर्घकालिन रुपमा स्थापित गर्नमा संस्थाले काम गर्दै आएको नेगी बताए ।

ज्ञापनपत्र बुझ्दै आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले नागरिकहरुका समस्या जिल्लाबाट सम्बोन्धन हुन नसक्ने भएकाले केन्द्रलाई जानकारी गराउने बचन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =