एमालेले अर्थमन्त्रीलाई सोध्यो- ‘प्रधानमन्त्रीज्यूले जिम्मेवारी औपचारिक रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ?’

काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएकोप्रति नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोग सचिवालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै एमाले सांसद गुरु बरालले आपत्ति जनाएका हुन् ।
उनले प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने मन्त्रालय तथा निकायका विषयमा अर्थमन्त्रीमार्फत जवाफ दिलाउनु संसदीय अभ्यासविपरित रहेको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले ती मन्त्रालय र निकायहरूको जिम्मेवारी औपचारिक रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ? भन्दै प्रश्न गरे ।
उनले भने ‘त्यो सबै मन्त्रालय र निकायको जिम्मेवारी हस्तान्तरण गरेको हो भने हामी त्यही ढंगले स्वीकार गर्छौँ । तर होइन भने त यो नियमलाई ठिक ढंगले बुझिदिनुपर्यो, चलन ठिक ढंगले चलाइदिनुपर्यो । सुविधाको चलन चलाएर अगाडि जान कसरी मिल्छ सभामुख महोदय ?’
प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई तोकेर संसदमा पत्रमा पठाएका थिए ।









