एमसीसीबारे राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नु पर्छ : अर्थमन्त्री शर्मा

पोखरा । संसद छलेर पर्वत पुगेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसीका लागि राष्ट्र हितको खोजी गर्नुपर्ने बताएका छन् ।

पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसीको विषय राष्ट्रिय इस्यु बनेको छ । म यहाँ आएर केही बोलिनँ भने बोलेन भन्नुहोला । यो राष्ट्रिय समस्या बनेको छ । यसले समाज र पार्टीहरूमा विभाजन ल्याएको छ ।’

एमसीसीका कारण सबैतिर विभाजन ल्याएको भन्दै उनले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए ।

‘यसले सबैतिर विभाजन ल्याएको छ,’ उनले भने, ‘यसबाट बच्नका लागि राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता छ । यसलाई आफ्नो गोरुको बाह्रै टक्का गरियो भने यसैका कारणले नेपालमा ठूलो समस्या पैदा हुन्छ । समाज ध्रुवीकरण हुन्छ । त्यसैले राष्ट्रहित र स्वाभिमानलाई केन्द्रमा राखेर सहमति खोज्नुपर्छ ।’

उनले विकास निरन्तर भइरहने प्रक्रिया भएकोले त्यसको दायित्व सरकारले लिने बताए ।

‘विकासको आवश्यक्ता निरन्तर भइराख्ने कुरा हो । यतिबेला आधारभूत पूर्वाधार र सामाजिक विकासमा जोड दिनु पर्ने छ,’ उनले थपे, ‘अरू विकास निरन्तर भैराख्ने कुरा हो । गाउँठाउँमा खानेपानी र पूर्वाधारको समस्या छ । यसलाई पूरा गर्नुपर्ने आजको दायित्व हो ।’

सरकारले छरिएका पुँजीलाई एकीकृत गरेर लगानीको वातावरण बनाउने शर्माको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =