इंग्लिस प्रिमियर लिग

लिभरपुल, चेल्सी, आर्सनल र साउथहम्पटन विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराती भएका खेलमा लिभरपुल, चेल्सी, आर्सनल र साउथहम्पटन विजयी भएका छन् ।

लिभरपुलले नर्विच सिटीमाथि ३-१ को जित हासिल गरेको छ । लिभरपुलले १–० ले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको हो । लिभरपुलका लागि साडियो माने, मोहमद सलाह र लुइस डियाजले एक एक गोल गरेका थिए । नर्विचका लागि मिलोट राशिकाले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको २५ खेलमा ५७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अब लिभरपुल म्यानचेस्टर सिटी भन्दा स्पष्ट ६ अंकले मात्र पछाडि रहेको छ । त्यसैगरी नर्विचको भने २५ खेलमा १७ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको हो । चेल्सीको जितमा हाकिम जिएचले खेलको ८९औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि चेल्सीको प्रिमियर लिगमा २५ खेलमा ५० अंकसहित तेस्रो स्थानमा छ । क्रिस्टल प्यालेसको भने २५ खेलमा २६ अंक छ र लिगमा १३औँ स्थानमा रहेको छ ।

यस्तै आर्सनलले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको छ । आर्सनलको जितमा एमिल स्मिथ रोव र बुकायो साकाले एक एक गोल गरेका थिए । ब्रेन्टफोर्डका लागि क्रिस्टियन नोर्गार्डले एक गोल फर्काएका थिए । यो जितपछि आर्सनलको २३ खेलमा ४२ अंक भएको छ र लिगमा छैटौँ स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको २६ खेलमा २४ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

अर्को खेलमा साउथहम्पटनले एभर्टनलाई २–० ले पराजित गर्‍यो । साउथहम्पटनको जितमा स्टुअर्ट आर्म्सटङ र शेन लंगले एक एक गोल गरेका थिए । यस सिजनमा २३ खेलमा एभर्टन १३ खेलमा हार बेहोरेको छ भने ६ खेलमा जित र ४ बराबरीसहित २२ अंक छ र लिगमा १६औं स्थानमा रहेको छ । त्यसैगरी साउथहम्पटनको यो जितपछि २५ खेलमा ३२ अंक छ र लिगमा १०औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =