हल्ट प्राइज एट आइओईको फाइनलमा १८ टोली

काठमाडौँ । हल्ट प्राइज एट आईओई २०२१/२२ को सेमिफाइनल बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँग सम्पन्न भएको छ ।
मिडिया कभरेज प्रबन्धक सुनीति श्रेष्ठले सेमिफाइनलमा पुगेका ४७ टोली र निर्णायक प्यानललाई बधाई दिइन । क्याम्पस निर्देशक विशाल बस्यालले दर्शक, निर्णायक मण्डल, सहभागी र अतिथिलाई धन्यवाद दिँदै कार्यक्रममा प्रभावशाली उद्यमीले सहभागीहरूलाई दिएको मार्गदर्शन, सल्लाह र मौलिक विचारहरूले कल्पना गरिएको योजनालाई मद्दत पुगेको बताए ।
निर्णायकहरूको प्यानलको परिचय गराउदै आफ्ना विचारहरू पिच गर्दै उत्कृष्ट १८ टोलीलाई ग्रान्ड फाइनलका लागि छनोट गरिने र सोही अनुसार सहभागीहरूले कार्यक्रमको विभिन्न चरणहरूमा पालना गर्नुपर्ने नियमहरू र मार्किंग योजनाबारे आयोजकले जानकारी गराएको थियो ।
कार्यक्रमको मुल आकर्षण पिचिङअन्तर्गत प्रत्येक टिमले तीन मिनेटमा आफ्नो पिच र दुई मिनेट निर्णायकको प्रश्नहरुको उत्तर दिएका थिए । पिचिङ ३ स्लटमा सम्पन्न भएको थियो जहाँ प्रत्येक स्लटमा फरक निर्णायक मण्डल थिए । सेमिफाइनलमा दर्शकबाट पनि विद्यमान समस्या र परियोजनाको समायोजनबारे जिज्ञासा आएका थिए ।
कार्यक्रममा बजरा टेक्नोलोजीका निर्देशक, मानव संशाधन र सञ्चालन सन्देश कर्माचार्यले फाइनलमा प्रतिस्पर्धा गर्ने १८ टोलीको घोषणा गर्दै शुभकामना दिएका थिए ।








