एट्लेटिको बिलबाओसँग रियल म्याड्रिड स्तब्ध

काठमाडौँ। स्पेनिस कोपा डेल रे फुटबलमा एट्लेटिको बिलबाओले रियल म्याड्रिडलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। उपाधि दाबेदार रियल म्याड्रिडको यात्रा क्वाटरफाइनलमा नै अन्त्य गर्ने क्रममा बिलबाओले निर्धारित समय सकिन एक मिनेट बाँकी हुँदा गरेको एक मात्र गोल निर्णायक बनेको थियो।

बिलबाओको घरेलु मैदानमा भएको क्वाटरफाइनलमा अधिकांश समय दुवै टीमले गोलरहित बराबरी खेले पनि अन्तिम समयमा रियल म्याड्रिड दुर्भाग्यशाली बन्यो। बिलबाओलाई जितका लागि ८९ औँ मिनेटमा एलेक्स बेरेंगरले शानदार गोल गरेका थिए। बेरेंगरले दुई डिफेन्डर विट गर्दै गरेको आकर्षक प्रहार गोलमा परिणत भएको थियो।

अब बिलबाओ लगातार तेस्रो सिजन फाइनल प्रवेशको प्रयासमा हुनेछ। आफ्नो जाइन्ट किलर छविलाई बिलबाओले कायम राख्न सफल भयो। अन्तिम १६ मा बार्सिलोनालाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको बिलबाओले क्वाटरफाइलनमा रियल म्याड्रिडलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको छ। बिलबाओ ‘रियल जारागोजा’पछि एकै सिजनमा रियल र बार्सिलोनालाई पराजित गर्ने दोस्रो टीम बन्यो।

बिलबाओको जितसँगै सेमिफाइनल समीकरण पुरा भएको छ। बिहिबार नै भएको खेलमा रियल बेटिसले रियल सोसिडाडलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। यसअघिनै भ्यालेन्सीया, रायो भालेकानो सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =