‘हल्ट प्राइज एट आइओइ’ले ‘द सबटल आर्ट अफ पिचिङ’ टक शृंखला सम्पन्न

काठमाडाैँ । आफ्नो चौथो कार्यशाला ‘उद्यमशीलता टक शृंखला, द सबटल आर्ट अफ पिचिङ’ बज्र टेक्नोलोजीसँगकाे सहकार्यमा सम्पन्न भएको छ ।
करिब १३० जना प्रत्यक्ष सहभागी र फेसबुक लाइभ मार्फत ३ सय बढी दर्शक माझ जोडिएको उक्त अन्तरक्रिया कार्यक्रममा आफ्ना व्यापारिक विचार र आइडियाहरूलाई लगनीकर्ता अघि कसरी प्रस्तुत गर्ने विषयमा विशेष छलफल भएको थियो ।
हल्ट प्राइज एट आइओइकी प्रोजेक्ट म्यानेजर आकृति शर्माद्वारा सञ्चालित सेसनको शुरूवातमा कार्यक्रमका कि नोट स्पिकर अभिनव सेवा कम्पनी, बज्र टेक्नोलोजीका प्रमुख रणनीति प्रबन्धक श्रेयान पौडेलले डिजाइन थिङ्किङ, इमप्याथी अनालिसिस र व्यपारिक रणनीतिबारे केही प्रकाश पारे ।
यसै गरी टेडएक्स स्पिकर, अन्तरराष्ट्रिय प्रेरक र कम्युनिकेसन कोच मानसी अग्रवालले लगनीकर्ताको माइण्ड सेट बारे अध्ययन गरी आफ्नो आइडियालाई पूरापुर विश्वासका साथ लगानीकर्ताहरू माझ राख्न सुझाव दिइन् । उनले आफ्नो प्रपोजलको शुरूवात र अन्त्यलाई पनि एकदमै क्याची बनाउन प्रतियोगीहरूलाई सल्लाह दिइन् ।
अर्का वक्ता डाइरेक्ट पे र पोडमियोका सिईओ तथा फोर्बस म्यागाजिनमा फिचर्ड उद्यमी सतीश गैरेले आफ्नै अन्दाजमा एआइडिए फ्रेमवर्कबारे टिप्पणी राखे । यसबाहेक उनले लगानीकर्ताहरूबाट कसरी प्रतिक्रिया पाउन सकिन्छ भन्ने विषयमा केही टिप्स र सुझाव दिए ।
कार्यक्रमको अन्त्यमा पूर्व बैंकर र पुरस्कार विजेता हास्य कलाकार स्टेपन डायरले हास्यलाई पनि आफ्ना प्रस्तुतिहरूमा प्रयोग गर्न सकिने उल्लेख गरे । आफ्नो सेसनको अन्तिममा एक सेल्फीका साथ सबैलाई विदा गरेका डायरले पब्लिक स्पिकिङका केही महत्त्वपूर्ण टिप्स पनि बताएका थिए ।
दुई घण्टा बढी चलेको यस कार्यशालामा सम्पूर्ण स्पिकरहरूले ४५ मिनेटको समय पाएका थिए जसमध्ये १० मिनेट सवाल जवाफका लागि छुटयाइएको थियो ।
हल्ट प्राइज एट आइओइले रेजिष्टर्ड टिमहरूलाई फेब्रुअरी एकभित्र आफ्नो प्रपोजल पेश गर्न समय तोकेको छ भने यस वार्षिक लामो प्रतियोगिताको सेमी फाइनल फेब्रुअरी पाँचमा रहेको छ ।
हल्ट प्राइजले वार्षिक रुपमा युनिभर्सिटी लेबलका विद्यार्थीहरूमध्येबाट उत्कृष्ट ठोस व्यापार विचारलाई १० लाख डलरको ग्रयान्ट उपलब्ध गराउँदै आएको छ ।









