राष्ट्रियस्तरको भेट्रान्स फुटबलको उपाधि चितवनलाई

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालित राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको छ । आज सम्पन्न फाइनलमा चितवन भेट्रान्सले हेटौँडाको कालभैरव भेट्रान्सलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । उपाधि विजेता चितवनको तर्फबाट कप्तान वीरेन्द्र पाण्डेले दुई तथा सुरज गुरुङले एक गोल गरेका थिए ।

चितवनका पाण्डेले प्रतियोगिताको २२औँ मिनेट र थप गरिएको अतिरिक्त चार मिनेटमा गोल गरेका थिए भने गुरुङले प्रतियोगिताको ११औँ मिनेटमा एक गोल गरेका थिए। कालभैरव हेटौँडाको तर्फबाट डेविन श्रेष्ठले थप गरिएको अतिरिक्त तेस्रो मिनेटमा एक गोल गरे।

चितवन भेट्रान्सले उपाधिसँगै रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको कालभैरव भेट्रान्स क्लब हेटौँडाले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको छ । आजको खेलमा चितवन भेट्रान्सका सुरज गुरुङ म्यान अफ म्याच घोषित भए ।

त्यस्तै प्रतियोगिताभरको सर्वाधिक गोलकर्ता चितवन भेट्रान्सका कप्तान वीरेन्द्र पाण्डे भएका छन् । पाण्डेले प्रतियोगिताभरि चार गोल गरेका थिए । त्यसैगरी उत्कृष्ट गोलरक्षक चितवन भेट्रान्सका गोलरक्षक राजकुमार गुरुङ, उत्कृष्ट डिफेन्डर कालभैरव हेटौँडाका हेमकुमार शर्मा, उत्कृष्ट मिडफिल्डर कालभैरव हेटौँडाकै दीपककुमार राई तथा सर्वोत्कृष्ट खेलाडी चितवन भेट्रान्सका हर्कबहादुर गुरुङ घोषित भएका छन् । उत्कृष्ट खेलाडीले रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =