मनाङलाई पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौँ ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साबिक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको छ। अपराजित रहँदै आएको मनाङको यात्रा छैटौँ खेलमा आएर अन्त्य भएको छ। मच्छिन्द्र भने अपराजित यात्रा जारी राख्न सफल भएको छ।

अतिरिक्त समयमा सुनिल बलले गरेको सानदार फ्री किक सिधै गोलमा परिणत हुँदा मनाङको सम्भावित बराबरीको अवसर समेत टरेको थियो। जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ। जारी लिगकै सर्वाधिक दर्शक उपस्थित रहेको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले निर्धारित समय गोलरहित बराबरी खेले पनि मच्छिन्द्रका लागि अतिरिक्त समय निर्णायक बन्यो।

त्यसअघि पहिलो तथा दोस्रो हाफमा दुवै टिमले गोलका राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन्। मनाङले मच्छिन्द्रलाई पहिलो हाफमा तुलनात्मक रूपमा दबाबमा राखे पनि दोस्रो हाफमा भने मच्छिन्द्र मनाङ विरुद्ध खेलमा फर्किएको थियो।

खेलको दोस्रो मिनेटमा नै मनाङका लागि अञ्जन विष्टको पासलाई समिडोले गरेको हाफभलि पोस्ट भन्दा केही इन्च टाढाबाट बाहिरिएको थियो। त्यस्तै १३ औँ मिनेटमा पुजन उपरकोटीको शक्तिसाली फ्रिकिकलाई गोलरक्षक विशाल श्रेष्ठले क्लियर गर्दै मच्छिन्द्रको संकट टारेका थिए।

यद्यपि त्यसपछि पनि खेलको पहिलो हाफमा मनाङले  दबाब बढाएको थियो। तर उसले बलमा पकडका बाबजुद गोलको मौका भने सिर्जना गर्न सकेन। तर ३९ औ मिनेटमा मच्छिन्द्रले राम्रो अवसर खेर फाल्यो। सुनिल बलको क्रसलाई नोर्लानले डिबक्स बाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार केही इन्चबाट बाहिरिँदा मच्छिन्द्रको सम्भावित अग्रता गुमेको थियो।

दोस्रो हाफमा पनि दुवै टिमले केही सीमित अवसरमा गोल गर्न चुक्दा खेल बराबरी उन्मुख बनेको थियो। तर मच्छिन्द्रले नाटकीय रूपमा अतिरिक्त समयमा दर्शनीय गोल गर्दा खेलमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न मच्छिन्द्र सफल रह्यो। मच्छिन्द्र सँग पराजित भएसँगै मनाङको अपराजित यात्रामा समेत पूर्ण विराम लाग्यो।

यो खेल एएफसी कपका लागि समेत महत्त्वपूर्ण मानिएको थियो। मनाङलाई पराजित गरेसँगै मच्छिन्द्रले एएफसि छनोटको सम्भावना कायम राखेको छ। मच्छिन्द्रको जितले अब आर्मीको लागि पनि एएफसी कपको छनोट सम्भावना कायम राखेको छ। जितसँगै अंक तालिकामा मच्छिन्द्रले ६ खेलबाट १३ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिदा मनाङ १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ। त्यस्तै एक खेल कम खेलेको आर्मीको ९ अंक भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =