आर्सनल कारवाओ कपको सेमिफाइनलमा
काठमाडौँ । घरेलु मैदानमा आर्सनलले सनडरल्यान्डलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै आर्सनल कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनलको जितमा युवा खेलाडी एडि एनकेटियाले ह्याट्रिक पूरा गरेका थिए ।
सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरेको आर्सनलले खेलमा अग्रता भने एनकेटियाको गोलमार्फत १७औँ मिनेटमा नै लिएको थियो । घरेलु टोलीका लागि २७औँ मिनेटमा निकोलस पेपेले अग्रता दोब्बर बनाए । तर सनडरल्यान्डले पहिलो हाफमा खेलमा फर्कने प्रयास गर्दै ३१औँ मिनेटमा गोल गर्यो । सन्डरल्यान्डका लागि ब्रोडहेडले गोल गरेका थिए ।
पहिलो हाफमा २-१ को अग्रता बनाएको आर्सन दोस्रो हाफमा थप आक्रामक देखिएको थियो । ४९औँ मिनेटमा आर्सनलले तेस्रो गोल गर्यो । आर्सनका लागि एनकेटियाले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ३-१ को अवस्थामा पुर्याए । उनले नै ५८औँ मिनेटमा पेपेको पासमा ह्याट्रिक पूरा गरे । आर्सनलका लागि पाँचौँ गोल भने पाटीनोले अतिरिक्त समयमा सम्भव बनाए ।
अब आज राति क्वाटरफाइनलका तीन खेलमा प्रतिस्पर्धा हुनेछ । ब्रेन्टफर्ड र चेल्सी, लिभरपुल र लेस्टर सिटी तथा टोटेनह्याम र वेस्टह्यामबीच प्रतिस्पर्धा हुनेछ ।