एनआरटीसँग सातदोबाटो पराजित

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा तीन खेलसम्म अपराजित रहेको सातदोबाटो युथ क्लब न्यूरोड टिम एनआरटीसँग १-० ले पराजित भएको छ। शीर्ष स्थानको दाबेदारीमा रहेको सातदोबाटो पराजित भएसँगै मनाङ र आर्मीलाई केही राहत महसुस भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफको सुरुवातमा नै एनआरटीले गरेको एक मात्र गोल निर्णायक बन्यो । ४६ औँ मिनेटमा स्टेफन समिर विनोङले मेसुकेले मिलाइदिएको पासलाई ६ यार्ड बक्सबाट शानदार गोल गरे।

त्यसअघि तीन खेलमा १ हार र २ बराबरीको नतिजा निकालेको एनआरटीको लिगमा यो पहिलो जित हो। दोस्रो हाफमा एनआरटीले गोलका केही राम्रा अवसरहरू सिर्जना गरेको थियो। ६०औँ मिनेटमा स्टेफनले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार सातदोबाटोका गोलरक्षक अविशेक बरालले बचाएका थिए । त्यसको पाँच मिनेटपछि दर्शन गुरुङ वान भर्सेस वानको अवसरमा चुके।

८५औँ मिनेटमा सातदोवाटोले बराबरी गर्ने मौका चुकायो। निरज चौधरीको क्रसमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका आशिष राई गोल गर्न चुक्दा अपराजित हुने मौका सातदोबाटोले खेर फाल्यो।

त्यसअघि पहिलो हाफको पुरै समय खेल नियन्त्रणमा राखे पनि सातदोबाटोले गोल गर्न असफल भयो। सातदोबाटोका केही आकर्षक सटहरू सदुपयोग हुन सकेनन्। पराजित भएसँगै सातदोबाटोले शीर्ष स्थानमा फर्किने अवसर गुमाएको छ।

यसअघिका तीन खेलमा २ जित र १ बराबरीसहित ७ अङ्क बनाएको सातदोबाटोले यसै सिजन ए डिभिजनमा बढुवा भएको हो। घरेलु फुटबलका सफल प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा सातदोबाटो राम्रो लयमा रहेको छ। जितपछि एनआरटी ४ खेलबाट ५ अङ्कसहित सातौँ स्थानमा पुगेको छ। सातदोबाटो भने तेस्रो स्थानमा यथावत् छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =